वाशिङ्टन । खोप नलगाएका व्यक्तिहरूमा संक्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका ‘गलत दिशामा हिँडिरहेको’ बताएका छन् ।
उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताएका हुन् ।
फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन् ।
उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन् ।
खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस ‘एउटा महामारी बनेको’ उनको भनाइ छ ।
सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
अमेरिकामा हालसम्म त्यहाँको जनसंख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ ।
त्यहाँ गत अप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ।
त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो । विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ ।
यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस संक्रमणको दर बढेको छ । त्यहाँ मे र जुन महिनामा संक्रमण निकै कम भएको थियो ।
बढी संक्रामक डेल्टा भाइरसका कारण पनि संक्रमण दर वृद्धि भएको बताइएको छ । एजेन्सी