काठमाडौं, १४ माघ । नेपाल फार्मेसी परिषद्ले विवरण अद्यावधिक नगर्ने फर्मासिस्टलाई कुशल अभ्यास प्रमाणपत्र नदिने भएको छ ।
परिषद्ले मंगलबार सूचना जारी गर्दै कुशल अभ्यास प्रमाणपत्र सहित कुनै पनि सिफारिस पत्र नदिने चेतावनी दिएको हो ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयद्वारा जारी सूचनामा यस्तो चेतावनी दिइएको हो ।
परिषद्को वेबसाइडमा गई अपडेट नेम रेजिष्ट्रेशन मार्फत नाम दर्ता गर्नुका साथै कार्यस्थल र अन्य विवरण अद्यावधिक गराउन सकिनेछ।
उक्त विवरण अद्यावधिक नगर्ने फर्मासिस्ट वा फार्मेसी सहायकलाई कुशल अभ्यास प्रमाणपत्र वा कुनै पनि प्रकारको सिफारिस पत्र जारी गर्न बाध्य नहुने परिषद्ले जनाएको छ।
सूचनामा परिषद्को नियमावली २०५९ को परिच्छेद ७ नियम ७.२ अनुसार दर्तावाला फर्मासिष्ट वा फामेसी सहायकले व्यवसाय छाडेमा ठेगाना परिवर्तन गरेमा एक महिनाभित्र लिखित रुपमा परिषद्लाई जानकारी गराउनुपर्ने भन्दै अद्यावधिक विवरण तथा कार्य विवरण नियमित रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।