झापा, २२ मंसिर। झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९र८० मा १७ जना, २०८०र८१ मा २३ जना र आव २०८१ । ८२ मा ३५ जनाको मृत्यु भएको बताउनुभयो।
“उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ”, उहाँले भन्नुभयो “तर, मृत्युदर भने बढेको छ ।” चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् ।
झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कूल एचआइभी संक्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए। स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना रु एकरएक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।
झापामा आव २०७९। ८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८० । ८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१ । ८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्याङ्क छ ।