काठमाडौँ, १९ कात्तिक । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले अदालतको मानहानी सम्बन्धि कसुरमा सफाई पाउनुभएको छ ।
यसअघि उच्च अदालत पाटनले संघका महासचिव डा सञ्जीव तिवारीविरुद्ध दायर अदालतको मानहानी गरेको फैसला गरेको थियो ।
डा. तिवारीले आफूलाई अदालतबाट मानहानी गरेको जानकारी प्राप्त भएको बताउनुभएको थियो । मैले अदालतको वेवसाइट हेरेको छैन, मलाई अदालतको मानहानी गरेको भन्ने जानकारी आयो, महासचिव डा.तिवारीले भन्नुभयो,“मैले अदालतको जस्तोसुकै फैसलालाई शिरोधार्य गर्दछु ।”
डा. तिवारीले पेशागत सुरक्षाको लागि बोलेको विषयमा आफूले अदालतको जस्तोसुकै फैसला पनि स्वीकार्य हुने बताउनुभयो।
तर पछि सोही मुद्दामा पाटन अदालतले दाबी नपुग्ने ठहर गरेको छ। अदालतले अघि वेबसाइट सार्वजनिक भएको “दाबी पुग्ने” भन्ने अंशलाई सच्याउँदै अन्ततः दाबी नपुग्ने निर्णय गरेको हो।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताद्वय जय प्रसाद पौडेल र सुबिन पाण्डेले तिवारीविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चले पनि डा.तिवारीले अदालतको मानहानी गरेको जानकारी दिएको थियो ।
मञ्चले तिवारीले उपभोक्ता अदालतको फैसला नबुझी गलत व्याख्या गरेको, अदालतको मानमर्दन हुने गरी प्रेस नोट जारी गरेको र विरोध प्रदर्शनका लागि उत्प्रेरित गरेको आरोप लगाएको थियो।
तर, अदालतले सम्पूर्ण कागजात र निवेदनको अध्ययनपछि अवहेलनाको अभियोग पुष्टि नहुने ठहर गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो।