काठमाडौँ, १५ कात्तिक । आन्दोलनरत नर्सको माग पुरा गराउन शनिबार (१०ः३० बजे) निर्णायक वार्ता हुँदैछ ।
स्वास्थ्य मन्त्रालयमा हुने उक्त वार्तामा स्वास्थ्य मन्त्रालयका पदाधिकारी, नर्सिङ संघका पदाधिकारी, अफिन, निजी मेडिकल कलेज सञ्चालक, आन्दोलनरत नर्स लगायतको सहभागिता हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज निर्णायक वार्ता हुने जानकारी दिनुभयो ।
नर्सको तलबभत्ता लगायतका विषय टुंगिएका छन्,प्रवक्ता बुढाथोकीले भन्नुभयो,“आज हुने वार्ताले त्यसलाई मूर्तरुप दिनेछ ।”
डा. बुढाथोकीले सरकारी नर्सका मागहरु कार्यदलले पछि टुंग्याउने बताउनुभयो ।
उहाँले आज हुने वार्तामा सहमति पत्रमा हस्ताक्षर हुने बताउनुभयो ।
दुर्गममा नगई बढुवा हुनुपर्ने, भत्ता, करारका नर्सलाई स्थायी गर्नुपर्ने लगायतका माग छन्, ती माग मन्त्रालयले मात्र पुरा गर्न सक्दैन,डा.बुढाथोकीले भन्नुभयो,“सरकारी नर्सका माग मन्त्रीपरिषदबाट पुरा हुने भएकोले मन्त्रालयले प्रधानमन्त्री समक्ष लैजान्छ ।”
निजी स्वास्थ्य संस्थाको मागका विषयमा भने सहमतिको नजिक पुगिसकेको उहाँको भनाई छ ।
अघिल्लो दिन कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको थियो । राति ७ बजे देखि पुन सुरु भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
आन्दोलनरत नर्सहरुले निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आफूहरुको तलव ज्यादै न्युन रहेको भन्दै सरकारी सरह अर्थात स्टाफ नर्स तलव स्केल ३४७३० रुपैयाँ हुनुपर्ने माग गर्दै आएका छन् ।
नर्सहरुले माग पुरा गर्न दवाव दिन दिनहुँ दुई घण्टा विहान १० देखि १२ बजेसम्म आकस्मिक बाहेक सेवा बहिस्कार गरि अस्पतालहरुमा धर्ना दिदै आएका छन् ।