काठमाडौँ, ११ असोज । बिहीबार रातीसम्म चलेको सरकार र आन्दोलनरत डाक्टरहरुबीचको वार्ता विनानिष्कर्ष सकिएको छ ।
आज साँझदेखि गृह मन्त्रालयमा भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।
चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले बिहीबार रातीसम्म भएको वार्ता सहमति विना सकिएको बताए ।
चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीले सरकारले सुरक्षा दिने भनिरहदा देशभरमा चिकित्सक कुटिएको भन्दै सरकारले आश्वासनमात्र दिएको बताए । बिहीबार भएको वार्तामा थप छलफल गर्नुपर्ने भन्दै वार्ता टुंगिएको थियो । देशका विभिन्न स्थानमा चिकित्सकमाथि आक्रमण भएको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् । कास्की, लमजुङ, मकवानपुर, अछाम लगाएतका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
वार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका पदाधिकारी, कानुन मन्त्रालय, गृह मन्त्रालयका प्रतिनीधि, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्की र महासचिव डा.सञ्जिव तिवारी लगायतको उपस्थिति थियो ।