पर्सा र बारा जिल्लामा दिइने
काठमाडौँ, २३ असोज । नेपालले १० लाख १८ हजार मात्रा हैजा विरुद्धको खोप प्राप्त गरेको छ ।
पर्सा र बारा जिल्लामा देखिएको हैजाको महामारीको आपतकालीन प्रतिकार्यका लागि उक्त खोप प्राप्त गरेको हो ।
खोप शाखा महाशाखा प्रमुख डा.अभियान गौतमले नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको जानकारी दिदै उक्त खोप पर्सा र बारा जिल्लामा लगाइने बताउनुभयो । उहाँले सरकारले असोज २६ र २८ गते खोप लगाउने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
आईसीजीद्धारा उपलव्ध खोप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटीलाई हस्तान्तरण गरिएको छ । टेकुस्थित विभागमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा डब्लुएचओका तर्फबाट डा बलविन्दर सिंह चावला, युनिसेफबाट डा बुद्धि सेतिवान लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै महानिर्देशक डा बाराकोटीले आईसीजीले महत्वपूर्ण समयमा महत्वपूर्ण सहयोग गरेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा अघि बढ्ने बताउनुभयो ।
हैजाबिरुद्धको आपतकालीन खोप अभियान पर्सामा २६ भदौ र बारामा २९ भदौ देखि सुरु गर्ने तयारी अघि बढेको छ । त्यसका लागि विभागबाट खोप शाखाका प्रतिनिधिहरु हैजा प्रभावित जिल्लामा पुगेर आवश्यक तयारी सुरु गरिसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह )आईसीजी)ले मुखबाट लिने हैजाबिरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसीभी) उपलव्ध गराएको हो । यो खोप पर्सा जिल्लाको सबै स्थानीय तह तथा बारा जिल्लाको छ वटा स्थानीय तहका एक वर्ष र सो भन्दा माथिका सबै व्यक्तिहरुलाई दिईने छ ।
पर्सा र बारा जिल्लामा गत भदौ यता १ हजार ६८५ जना बढीलाई हैजा संक्रमण भएको पुष्टि भईसकेको छ । जसमा धेरै जसो १५ देखि २४ वर्ष उमेर समूहका बालबालिका र युवा रहेको बताइएको छ ।