काठमाडौँ, १९ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा रेकर्ड तोडिएको छ ।
काउन्सिलले गत १५ र १६ साउनमा लिएको विशेषज्ञ चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम) मा नयाँ रेडर्क तोडिएको हो ।
काउन्सिलका अनुसार यसपटक परीक्षामा सहभागीमध्ये ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यो गतवर्ष साउनमा लिइएको परीक्षाको नतिजा भन्दा ०. ३७ प्रतिशतले बढी हो ।
यसपटकको नतिजाले गतवर्षको रेकर्ड तोड्दै ‘ऐतिहासिक रेकर्ड’ कायम गरेको हो ।
काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भरे पनि एक हजार ७६ जना सहभागी रहेकोमा ९९८ जना अथात् ९१.८२ प्रतिशत उत्तीर्ण भएको बताउनुभयो । उहाँका अनुसार ४ जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
गतवर्ष साउनको १७ र १८ गते लिइएको परीक्षामा ९१.४५ प्रतिशत उत्तीर्ण हुँदा चिकित्सा वर्गमा ठूलो चर्चाको विषय भएको थियो । यस पटक त्यसलाई समेत उछिनेर ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलका अध्यक्ष प्राडा. चोपलाल भुसालले साउनमा परीक्षा दिनेहरु भर्खरै पास आउट भएका हुनाले धेरै उत्तिर्ण भएको हुनसक्ने बताउनुभयो । अध्यक्ष प्राडा भुसालले विज्ञ टोलीले तयार गरेको सिस्टमबाट प्रश्न सोधिने जानकारी दिदै फ्रेस विद्यार्थीका लागि प्रश्न सजिलो भएर बढी विद्यार्थी पास भएको हुनसक्ने बताउनुभयो ।