जनकपुरधाम, १५ असार । प्रादेशिक अस्पतालमा सिरहामा बालकको मृत्यु भएपछि बालकका आफन्त आन्दोलनमा उत्रिएका छन् ।
सिरहा नगरपालिका ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका हुन् ।
मृतकका आफन्तले अस्पताल अगाडि सडकसमेत अवरुद्ध गरेका छन् । चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् ।
उनीहरुले अस्पतालमा तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बालकको मृत्युपछि आफन्त र गाउँलेले अस्पतालमा प्रदर्शन गरिरहेका छन् । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।
घरमा अचानक बेहोश भएपछि बिहान साढे १० बजे ती बालकलाई आफन्तले अस्पताल लगेका थिए ।
स्वास्थ्य परीक्षणको क्रममा बालकको शरीरमा रगतको मात्र अत्यधिक कम पाइएको थियो ।
उपचारमा डा सुदेशकुमार यादवले परीक्षण गर्नुभएको थियो । डा.यादवले तत्काल रगत चढाउन भनेपनि अस्पतालभित्रै रहेको ब्लड बैंकमा रगत नभएको कारण बालकको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका हुन् ।
छोराको मृत्यु भएपछि आमा सुनिता महरा अचेत हुनुभएको छ ।