३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
काठमाडौं, २ असार । नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्वलता सम्बन्धी राष्ट्रिय अध्ययन गरिएको छ ।
उक्त अध्ययनमा ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ ।
यौन दुर्बलतामा गरिएको उक्त अध्ययन प्रतिवेदन आज एक कार्यक्रमबीच सार्वजनिक गरियो ।
रास्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभयो।
सो कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता डा. खेम बहादुर कार्कीले अध्ययनबारे आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाहरूका ३३८२ जना विवाहित महिला र पुरुषहरूमा गरिएको यो अध्ययनले अहिलेसम्म लुकेको र भित्र भित्र भयाबह रूपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको छ।
स्थानीय एकीकृत विकास समाज नेपाल(सोलिड नेपाल) ले परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, सयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायतका संस्थाहरूको सहयोगमा सन् २०२४मा गरेको यौन दुर्बलता सम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।
यौन दुर्बलता हुनु भनेको यौन जीवनमा समस्या आउनु हो। यौन ईच्छाको कमी हुने, यौन उत्तेजना कम हुने, चरम आनन्दको अवस्थामा नपुग्ने, यौन सम्पर्क गर्दा दुख्ने, यौन आनन्द वा सन्तुष्टी अनुभव गर्न नसक्ने अवस्था हो । यौन दुर्बलताको कारण यौन जोडी वा श्रीमान श्रीमती बीचको सम्बन्ध बिग्रने मात्रै होइन, यसका कारण यौन दुर्व्यवहार, हिंसा र बलात्कार जस्ता जधन्य अपराधहरू समेत बढ्छन् । बयस्कहरूको यौन जीवनमा समस्या आउनु भनेको खुशी र आनन्दको अनुभूति मात्रै गुमाउने होइन, मानसिक तनाव तथा भावनात्मक चोटका कारण सामाजिक तथा आर्थिक क्रियाशीलतामा ह्रास आउँछ। गुणस्तरीय जीवन अर्थात सुखी र खुशी जीवनयापनका लागि यौन स्वास्थ्यलाई एक महत्वपूर्ण पक्षको रुपमा मानिन्छ । यौन स्वास्थ्य भन्नाले यौन भावना, सम्बन्ध, विश्वास, आत्मसम्मान र पहिचानको दृष्टिकोणले पूर्णस्वस्थ रहनु हो।
यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको देखिन्छ । विश्वमा सरदर आधा जति मानिसहरू (महिलामा ४९% र पुरुषमा ४३%) ले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्याङक रहेको छ। यस मध्ये एशियाली देशका नागरिकहरूमा यो दर झन धेरै रहेको देखिन्छ। सन् २०११ मा प्रकाशित अनुसन्धानमुलक लेखका अनुसार मलेसियाका पुरुषहरूमा २७% - ६९% सम्म, सिंगापुरका पुरुषहरूमा ५१% - ७३% सम्म र हङकङका पुरुषहरूमा ६४% सम्ममा लिङ्ग उत्तेजित नहुने समस्या देखाइएको छ। यसैगरी सिंगापुरका ५६% महिलाहरूमा यौन दुर्बलता रहेको तथ्याङ्क पाइन्छ।
यौन दुर्बलता भएका पूरुषहरूमा लिङ्ग उत्तेजित नहुने वा यौन सम्पर्कको समयमा चाहे जति दह्रो नहुने अवस्थालाई नै यौन दुर्बलताको सुचाङ्क मानिन्छ। नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२% प्रतिशत पुरुष मध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्बलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ । यौन दुर्बलता भएका मध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टी प्राप्त गर्न नसकेको बताएका छन् । त्यसै गरि ९२ प्रतिशत महिला पुरुषले दुवैले यौन चाहाना नै नहुने बताएका छन् । यसले उनीहरूको जीवन तनावपुर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्दछ ।
यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिसतमा यौन उतेजना नै नहुने छ भने ८६ प्रतिसतमा योनि सुख्खा हुने समस्या छ। करिब ६६ प्रतिसत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन ।
यौन चाहना भएर यौन सम्पर्क नै गरिहालेमा प्रत्येक चारजना मध्ये तीन जनाले चरम आनन्द प्राप्त गर्न नै सक्दैनन्। यौन सम्पर्क गर्ने जोडी मध्ये एकले आनन्द प्राप्त गर्ने अर्कोले नगर्ने अवस्थाले सम्बन्धमा चिसोपन ल्याउँछ ।यहिबाट घरेलु हिँसाको सुरुवात हुन्छ ।प्रत्येक चारजना पुरुष मध्ये तीनजना र प्रत्येक पाँचजना महिलाहरू मध्ये तीनजनाले समग्रमा यौन सन्तुष्टी प्राप्त गर्नै सक्दैनन्।
सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश (७३%) र यसपछि कर्णाली प्रदेश (७१%) मा रहेको छ। यसले विकासको दृष्टिकोणले पछाडी परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ । यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव हो र यो गरिबी र अभावसँग जोडिएको हुन्छ । यसरी विकास सूचाङ्कले यौन दुर्बलतासँग अप्रत्यक्ष सम्बन्ध राख्छ ।
अध्ययनले १८ वा १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर (६८%) २५ वर्ष पुरा भएर विवाह गर्नेहरूको दर (६१%) भन्दा उच्च रहेको देखाएको छ ।त्यसैले बालविवाहले महिला तथा पुरुषको यौन जीवनमा पनि नकारात्मक प्रभाव पारेको देखिन्छ ।
फलफुल र सागसब्जी सहितको स्वस्थकर खाना खानेहरूमा (६५%) भन्दा यस्तो खाना कम खानेहरूमा (६८%) यौन दुर्बलताको दर उच्च रहेको छ। व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खानुलाई स्वस्थ्यकर खाना मानिन्छ । स्वास्थ्यकर खाना खानेहरूमा यौन दुर्बलताको दर कम देखिएबाट अस्वस्थकर खानपीनले पनि यौन दुर्बलता बढाएको छ भन्न सकिन्छ ।
अध्ययन प्रतिवेदनले सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको कुरा पुस्टि गरेको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकाहरू मध्ये ८० प्रतिसतमा यौन दुर्बलता देखिएको छ । त्यसै गरी मदिरा सेवन गर्नेहरूमा(६९%) नगर्नेहरूमा (५९%) भन्दा बढी छ ।
सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिहरूमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौनदुर्वलता देखिएको छ । त्यस्तै, उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा वढी भएका व्यक्तिहरूमा पनि यौन दुर्बलताको अवस्था वढी नै देखिएको छ । अध्ययनले कुनै दीर्घरोग जस्तै मधुमेह,उच्च रक्तचाप भएकाहरूमा यौन दुर्बलता वढी हुने देखाएको छ । यौन दुर्बलताको कारणहरू मध्ये नसर्ने रोगहरू प्रमुख कारणहरू मानिन्छन् । यसो हुँदा यौन दुर्बलता सम्बन्धी रोकथाम तथा उपचारलाई नसर्ने रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम एकीकृत गराउनु पर्ने देखिन्छ ।
सर्वेक्षणमा समावेश भएका मध्ये यौन दुर्बलता भएका व्यक्तिहरूसँग गरिएको छलफलबाट यौन दुर्बलताका प्रमुख कारणहरूमा व्यस्त जीवनशैली, मानसिक तनाव, श्रीमानश्रीमती छुट्टिएर बस्नु पर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको छ भने, शारीरिक कारणहरूमा यौन अङ्गमा हुने सङ्क्रमण, श्रीमान वा श्रीमतीमा भएको स्वास्थ्य समस्याहरू प्रमुख रहेका छन्। अध्ययनको शिलसिलामा सेवा प्रदायकहरूसँग पनि छलफल गरिएको थियो ।उहाँहरूसँगको छलफलमा गोपनीयता र विश्वसनियता कायम गर्न नसक्दा यौन दुर्बलताको समस्या नै भन्न हिच्किचाउने गरेको उल्लेख गरेका छन्। यस्ता व्यक्तिहरूले धेरैजसो आधिकारिक स्वास्थ्य सेवा लिनु अघि अनधिकृत संस्थाहरू वा व्यक्तिहरूबाट अप्रमाणित र गलत औषधीहरू सेवन गर्ने र परम्परागत औषधीहरूमा नै विश्वास गर्ने गरेको बताएका छन्।
स्वास्थ्य सेवा प्रदायकहरूका अनुसार, यौन दुर्बलता भएका ९० प्रतिशत भन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको देखिन्छ। साथै छलफलको क्रममा यौन दुर्बलता र मनोवैज्ञानिक कारणहरूबीच चक्रिय सम्बन्ध रहेको, जहाँ एकले अर्कोलाई असर पार्ने र समस्यालाई झन् जटिल बनाउने बताईएको छ।
अध्ययनको शिलसिलामा प्राप्त नतिजाका आधारमा सुझावहरू पनि प्रस्तुत गरिएको छ।यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी वर्तमान नीति र कार्यक्रमहरूमा यौन स्वास्थ्य, यौनिकता शिक्षा, यौन मनोविमर्श, यौन दुर्बलताको उपचार र यौन हिंसालाई एकीकृत रुपमा समावेश गरिनु पर्छ । त्यसैगरी,
स्वास्थ्य सेवा प्रदायकहरू, स्वास्थ्य शिक्षकहरू र स्वास्थ्य प्रवर्धकहरूको क्षमता अभिवृद्दि गर्न सेवा पूर्व र सेवाकालीन तालीमहरूमा यौन स्वास्थ्यका विषयहरू अनिवार्य रुपमा समावेश गर्नु पर्दछ।
सेवाग्राहीहरूको सहज पहुँच सुनिश्चित हुने गरी अस्पतालहरू र स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा यौन स्वास्थ्यसम्बन्धी बहु-विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गरिनु पर्छ।
ढिलो नगरी, किशोरकिशोरी, युवा तथा वयस्कहरूको यौन स्वास्थ्यलाई पूर्ण रुपमा स्वस्थ राख्न र यौन तथा लैङ्गिक हिंसा लगायत बालविवाह र यौन जोडीबाट हुने हिंसालाई रोक्नका लागि विद्यालय र विश्व विद्यालयको पाठ्यक्रममा वृहत यौनिकता शिक्षालाई समावेश गरिनु पर्छ।
अहिले सञ्चालनमा रहेका समुदायिक गतिविधिहरू जस्तै आमा समुह, उपभोक्ता समुह, स्वास्थ्य समुहको नियमित कार्यक्रममा यौन दुर्बलता रोकथाम र नियन्त्रण सहितको जिम्मेवार स्वस्थ यौन व्यवहारहरूका बारेमा छलफल चलाउन जरूरी छ। यसले समुदायमा रहेको यौनप्रतिको नकारात्मक धारणा, यौन विभेद, समाजिक कुरीतिहरूलाई क्रमशः हटाउँदै लैजान र यौन स्वास्थ्य सेवाको पहुँच वृद्दि गर्न मद्दत गर्दछ।
नसर्ने रोगहरू र यौन दुर्बलताका जोखिमका कारक तत्वहरू उस्तै उस्तै हुने भएकोले यौन स्वास्थ्यलाई नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका कार्यक्रमसँग एकीकृतरुपमा सञ्चालन गर्नु पर्दछ। नसर्ने रोगहरू खासगरी मधुमेह, मुटुसम्बन्धी रोगहरू, क्यान्सर, दीर्घ श्वासप्रस्वास र मानसिक स्वास्थ्य आदि पनि यौन दुर्बलताका कारणहरू देखिएका छन्।
सञ्चार माध्यमहरू मार्फत यौन स्वास्थ्यसम्बन्धी तथ्यपरक र विज्ञानसम्मत शिक्षा, सूचना र जानकारीहरू प्रसारण गरी यौनका बारेमा सकारात्मक जनमत तयार गरिनु पर्दछ । समाजमा रहेका यौन स्वास्थ्यसम्बन्धी विभेद र अफवाहरूलाई हटाउँदै लैजान र सेवाको पहुँच वृद्दी गर्नमा पनि सञ्चार क्षेत्रलाई सहभागी गराउनु पर्दछ ।
यसरी यौन दुर्बलता वा यौन समस्यालाई कम गर्न समग्रमा आधारित समाधान खोजिनु पर्छ । अब ढिलो गर्नु हुन्न ।