कपिलवस्तु, २ जेठ । मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा शुक्रबार मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
शुक्रबार बिहान गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उहाँहरूलाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
कारचालक रुपन्देहीको सैनामैना नगरपालिकाका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।