स्वास्थ्य मन्त्रालयसंग चिकित्सकसंघको चारबुँदे सम्झौता
काठमाडौं, २० वैशाख । एक महिनाभन्दा लामो समयदेखि आन्दोलनरत आवासीय चिकित्सकको आन्दोलन अन्त्य भएको छ ।
निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिहेका चिकित्सकहरुले स्वास्थ्य मन्त्रालयसंग आज चार बुँदे सम्झौता गरेसंगै आन्दोलन अन्त्य भएको घोषणा गरेको हो ।
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयसँगको सहमति पछि आन्दोलन स्थगित गरिएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय संघबीच भएको चार बुँदे सहमतिपत्रमा मन्त्रालयबाट डा भीमप्रसाद सापकोटा र संघका महासचिव डा. सञ्जिव तिवारीले हस्ताक्षर गर्नुभएको छ ।
यस्तो छ सम्झौताको चार बुँदाः
१, चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।
२, आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।
३, चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ् तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।
४, नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।