दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाइ
काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाउनुभएको छ ।
मन्त्रालय अन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भन्नुभएको हो ।
मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारी तन्त्रलाई सक्रिय बनाएका हुन् । मन्त्री पौडेलले मन्त्रालयअन्र्तगतका महाशाखा तथा केन्द्रहरुको नियमित रुपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिंदै आउनुभएको छ ।
यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरुलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग बनाउनुभएको हो ।
‘दातृ निकायहरुबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ मन्त्री पौडेलले भन्नुभयो ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका श्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौं ।’
मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखहरुसँग आग्रह गर्नुभयो ।
‘हामीसँग बजेटमा श्रोत छ तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौ’ं, उहाँले भन्नुभयो, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’
मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरुलाई सदैव साथ रहने बताउनुभयो । ‘तपाईंहरुको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ मन्त्री पौडेलले भन्नुभयो, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौं ।’
स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाउनुभयो ।