एटलान्टा, १५ पुस । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको छ।
अक्टोबर १, १९२४ मा जन्मेका, कार्टर १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति थिए। उनी अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँचेका राष्ट्रपति थिए।
कार्टर केही समयदेखि मेलानोमा नामक रोगबाट पीडित थिए। मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो। यो उनको कलेजो र मस्तिष्कमा फैलिएको थियो। २०२३ मा उनले आफ्नो रोगको उपचार नगर्ने निर्णय गरेका थिए।
राष्ट्रपति पद छाडेपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत धेरै वर्ष मानवीय काम गरे। उनले कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए ।
उनले युद्धको समाधान खोज्ने, चुनावको अनुगमन र रोगहरूको उन्मूलन गर्ने दिशामा काम गरे। उनलाई कार्टर सेन्टर मार्फत उनको कामको लागि २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताए ।
बाइडेनले रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई अरूका लागि उदाहरणका रूपमा कार्टरको कामको उद्धृत गरे ।