काठमाडौँ, ३१ साउन । आर्या फर्मा ल्याव प्रालिको गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (डब्लूएचओ जीएमपी) सर्टिफिकेट निलम्बन गरिएको छ । मापदण्ड पुरा भएको नदेखिएपछि औषधि व्यवस्था विभागले निलम्बन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको छुट्टा छुट्टै टोलीले आर्या फर्मा उद्योग अनुगमन गरेको थियो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन्त्रालय र विभागको टोलीले गरेको निरीक्षण र त्यसपछिको प्रतिवेदनका आधारमा आर्याको जीएमपी निलम्बन गरिएको जानकारी दिए ।
उनले जीएमपीका लागि तोकिएको मापदण्ड नपुगेपछि निलम्बन गरिएको बताए ।
यसअघि गत ६ साउनमा विभागको बीरगञ्ज शाखाबाट गएको टोलीले आर्याको स्थलगत अनुगमन तथा निरीक्षणमा गएको थियो । त्यसक्रममा टोलीले सो उद्योगबाट उत्पादित भेटेनरी उत्पादन पूर्ण रुपमा बन्द गर्नुपर्ने र मानवतर्फका औषधि उत्पादनका लागि दिइएको डब्लूएचओ जीएमपी निलम्बन गर्नुपर्ने सिफारिस गरेको थियो ।
पछि मन्त्रालयबाट पनि अर्को टोली गएर उस्तै प्रकारको प्रतिवेदन तयार गरेको थियो । दुबै टोलीको सुझाव अनुसार जिएमपि निलम्बन गरिएको हो।