लन्डन,१९ माघ। स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ ।
एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो।
छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीको भनाइ उधृत गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जनाए ।
घटनास्थलमै निधन भएका दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।
ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए। 'यज्ञजी आफू पनि पढ्ने र छोरीहरूको पनि सुन्दर भविष्यका लागि बेलायत आउनु भएको थियो। यस दुःखद् घटनाले आफ्ना सन्तानप्रति चिन्तित सुवेदी परिवारमा बज्रपात परेको छ ।
मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी छ । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसका क्षेत्रीय कमान्डर एन्ड्रयू राइटले भवन आगलागी भएपछि सात वटा दमकल र विशेषज्ञ टोली पठाइएको जनाएका छन् ।
सावधानीका रूपमा छिमेकीका घरहरु खाली गराइ केही समय सडक पनि बन्द गरिएको थियो। स्कटल्यान्ड प्रहरी प्रवक्ताले सोमबार साँझ लगभग ६ बजे प्रहरी अधिकृतहरूलाई आगलागीको खबर आएको जनाएका छन्। तत्काल आकस्मिक सेवाहरू घटनास्थल पुगे पनि दुई दिदीबहिनीलाई घटनास्थलमै मृत घोषित गरिएको जनाइएको छ। आगलागीमा उनीहरुको एउटा बिरालो पनि मरेको छ। एक बच्चालाई सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट घर फर्किइसकेका छन् । त्यस्तै अन्य ५ जनालाई स्कटिस एम्बुलेन्स सर्भिसले उद्धार गरेको थियो ।
साँझ ६ बजेतिर सुरु भएको आगलागी स्कटिस फायर एन्ड रेस्क्यू सर्भिसले करिब तीन घण्टापछि राति ९.०२ बजेतिर नियन्त्रणमा लिएको थियो। आगलागीको कारण नखुले पनि यसलाई प्रहरीले शंकास्पद ठानेको छैन। यसबारे स्थानीय प्रहरी र फायर सर्भिस्ले अनुसन्धान गरिरहेका जनाइएको छ। एबरडिन ग्रामर स्कुल पढ्ने उनीहरूका सहपाठी र परिवारजनले दिवंगत दिदीबहिनी सुन्दर, दयालु र मायालु भएका उल्लेख गर्दै आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।