बुटवल १२ पुस । कार्यक्रम थियो बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन समारोहको ।
प्रमुख अतिथि थिए, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । अस्पतालको वार्षिकोत्सव उद्घाटन समारोहमा मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने भन्दै मदिराको प्रचारमै समय बिताए । मुख्यमन्त्रीको कुरा सुनेर दर्शकदिर्घामा रहेका सबै जना आश्चर्य मानेका थिए ।
मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौं रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।
घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।
घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए ।
मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए ।
अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहितको अस्पताल चितवन पश्चिमको पहिलो अस्पताल भएको बताए। गौतमले अस्पतालले संचालन गरेको क्याथल्याबबाट मुटुका विरामीहरुको एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियो सेन्टिसिस, पिटिएमसि र आर एच सि सेवा समेत यसक्षेत्रमै पहिलो भएको बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताए।