सुशासनको आवाज उठाउनेलाई स्टोर र खरिदका कर्मचारीले धम्की दिएको आरोप
काठमाडौँ, ५ कात्तिक । महाबौद्धस्थित वीर अस्पतालमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसंग जवाफ मागेको छ ।
केन्द्रले अस्पतालमा समूह नमिल्ने कर्मचारीलाई स्टोर तथा खरिदको जिम्मेवारी दिएको, सामान खरिदमा अनियमिता भएको, खरिद र स्टोरमा कार्यरत कर्मचारीहरुले अस्पतालमा कार्यरत कर्मचारीलाई धम्क्याएको लगायतका १५ विषयमा न्याम्ससंग जवाफ माग गरेको हो ।
आर्थिक तथा प्रशासनिक सुशासनको आवाज उठाउने कर्मचारीलाई अस्पतालका कर्मचारीहरु टिकाराम पनेरु, नवराज धिताल, बैकुण्ठ लुइटेल लगायतले धाकधम्की दिएको विषयमा पनि केन्द्रले प्रतिष्ठानसँग जवाफ माग गरेको छ ।
वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएपछि सतर्कता केन्द्रले छानविन समिति गठन गरेर अध्ययन गरेको थियो । छानविन समितिको प्रतिवेदनको आधारमा केन्द्रले प्रतिष्ठानलाई १५ बुँदे जवाफ माग गरेको हो ।