बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो।
बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताउनुभयो।
खाँडले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गर्नुुभयो । उहाँले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा रहेको स्पष्ट पार्दै विसं २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताउनुभयो।
अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गर्नुभयो
अस्पतालले हाल बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीलाई नियमित डायलायसिस सेवा दिँदै आएको छ। त्यसैगरी एक वर्षको अवधिमा एञ्जियोप्लास्टी १११, एञ्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा समीर गौतमले जानकारी दिनुभयो। रासस