काठमाडौँ, १ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा एमबीबीएस अध्ययन हुने भएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा.भुपेन्द्र कुमार बस्नेतले एमबिबिएस लगायतका स्नातक तहका अन्य विषयमा पनि अध्ययन गर्न लागिएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले एमबीबीएस लगायतका अन्य विषय अध्ययन गराउन लागेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा. बस्नेतले वीरमा आगामी शैक्षिक सत्र देखि एमबीबीएस तथा स्नातक तहका अन्य विषय अध्यापनका लागि तयारी गरिसकेको जानकारी दिए । उपकुलपति प्राडा. बस्नेतका अनुसार स्नातक तहमा अध्ययन गर्नका लागि समिति समेत गठन गरिसकेको छ । उक्त समितिमा शिक्षाध्यक्ष प्राडा. लोचन कार्की संयोजक हुनुहुन्छ । प्राडा.कार्कीको संयोजत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा डा.अशेष ढुंगाना, डा पवन हमाल, डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की,.प्रशासन र लेखा शाखाका प्रतिनिधि सदस्य हुनुहुन्छ । समितिले पूर्वाधार, जनशक्ति, आर्थिक खर्च लगायतको विषयमा विस्तृत अध्ययन गर्नेछ । वीरमा एमबीबीएस लगायतका अन्य विषयमा स्नातक अध्ययन गराउन पाइयो भने ७५ प्रतिशत छात्रवृत्तिमा गरिब तथा जेहेन्दार विद्यार्थीले अवसर पाउनेछन् । उपकुलपति प्राडा.बस्नेतले वीरमा एमबीबीएस, नर्सिङ, फार्मेसी लगायतको अध्ययन हुँदा अधिकांश विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएकोले तत्काल चिकित्सा शिक्षा आयोगलाई सिट निर्धारणका लागि आग्रह गर्ने बताए ।