काठमाडौँ, २६ असोज । औषधि उद्योगको विकास गर्ने उद्देश्यले आयोजना गरिएको नेपाली औषधि उद्योग सम्बन्धि ‘फर्मा सम्मेलन –२०२३’ सम्पन्न भएको छ ।
नेपाल औषधि उत्पादक संघको आयोजनामा भएको यो सम्मेलनमा नेपाली औषधि उद्योगको विकासकालागि नीतिगत वहस, नेपालमा फर्मा बजारको सम्भावना र चुनौती लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपालका औषधि उत्पादक, स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका पदाधिकारी सहित भारत र बंगलादेशका विज्ञहरुको समेत उपस्थिथि रहेको थियो।
सम्मेलनमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले नेपाली औषधि उद्योगहरुको विकास जरुरी रहेको भन्दै नेपाली उद्योगीलाई सरकारको सधै सहयोग रहने बताए। उनले स्वदेशी उद्योगहरुले गुणस्तरमा ध्यान दिन आग्रह गरे। उनले नीतिगत गर्नु पर्ने सुधारका काममा पनि आफू सधै सकारात्मक रहेको बताए।

नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष प्रज्वलजंग पाण्डेले सम्मेलनले नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याएको भन्दै नेपाली औषधि उद्योगको विकास, नीतिगत वहस, नेपालको औषधि बजारको सुधार लगायतका विषयमा छलफल भएको बताए।
कार्यक्रमको पहिलो सत्रमा भारतका डा निकुञ्ज पटेल, बंगलादेशका डा शितेस सी बचार सहित टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश बैद्य, औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्री, औषधि विज्ञ डा पन्ना थापा लगायतले छलफलमा भाग लिएका थिए।
कार्यक्रममा ढाका युनिभर्सिटी फार्मेसी विभागका डिन डा. शितेस सी बचारले बंगलादेशको फर्मा उद्योगले कसरी विकास गर्यो र त्यसबाट नेपालले के कुरा सिक्न सक्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। उनले बंगलादेशमा ९७ प्रतिशत आफ्नै उत्पादनले माग पुरा गर्ने गरेको र ३ प्रतिशत मात्र अन्य मुलुकबाट आयात गर्ने बताए। उनले भने ‘९७ प्रतिशत लोकल बजारको माग पूरा गर्ने सायदै अन्य मुलुक होलान।‘
त्यसैगरी उनले एसियाका केही छिमेकीहरु मध्ये सिंगापुरले ८०, मलेसियाले ७० फिलिपिन्सले ६५, भियतनामले ६० आयात गरे गरेको तथ्यांक दिए। त्यसैले बंगलादेश फर्मा उत्पादनका हिसावले राम्रो पोजिसनमा रहेका बताए।
भारतका विभिन्न फर्मा उद्योगमा काम गरेका ईन्टरनेसनल विजनस डेभलप्मेन्टका एक्सपर्ट डा. निकुञ्ज पटेलले भारतमा आजको फर्मा मार्केटमा १ हजार उद्योग रहेको जानकारी दिदै विश्व बजारमा फर्मामा योगदान दिने तेस्रो मुलुक रहेको बताए।
यस्तैगरी विभागका पान बहादुर क्षेत्रीले औषधिका क्षेत्रमा सरकारको नीति, थापाले नेपालको औषधि उत्पादनको क्षेत्रमा भएका कार्य र गर्नु पर्ने कार्य, नेपालमै पहिलो पटक एन्टी क्यान्सरको औषधि बनाएका बैद्यले टेक्नोलोजी ट्रान्सफर र फरेन डाइरेक्ट इन्भेस्टमेन्टका बारेमा आफ्ना धारणा राखेका थिए।
समूहगत छलफलको सहजीकरण बरिष्ठ उपाध्यक्ष महेश प्रधानले गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा नेपालमा औषधी उद्योगको विकासका कस्ता नीतिले सहयोग गर्न सक्छ, उत्पादन खर्च कसरी घटाउन सकिन्छ भन्ने विषयमा अन्तर्क्रिरया गरिएको थियो।

उक्त विषयमा बोल्दै स्वास्थ मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायले १५ औँ योजना देखि सरकारले स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने गरी नै काम भएको भन्दै कार्यानवयमा र केही व्याक्तिगत नियतका कारण सन्तोसजनक काम हुन नसकेको बताए । उनले नीति नियमका कमिका कारण समस्या नभएको बताए।
औषधी महानिर्देशक नारायण ढकालले सिमित श्रोत र साधनका वावजुत विभागले पक्रिया पुगेका फाइल नरोकेको बताए । उनले नेपाली उद्योगलाई केवालिटीमा कम्पेरमाइज नगरी केही लचिलो भएको बताए। उनले मूल्य निर्धारण लगायतका कामका लागि परमर्श समितिले नियमित काम गर्न भने नसकेको स्विकार गरे।
कार्यक्रममा औषधी उत्पादन संघका पूर्व अध्यक्ष प्रदिप जंग पाण्डेले कच्चा पदार्थ तथा उत्पादन र प्याकेजिङमा प्रयोग हुने समानमा दोहोर कर तथा सरकारी कागजी प्रक्रिया लामो भएका कारण काम गर्न सहज नहुने र उत्पादन खर्च बढ्ने बताए।
त्यसैगरी डा. शतिस सी बचारले बगलादेशले कस्ता निति र सरकारको भूमिकाका कारण औषधी उद्योगले विकास गर्यो र त्यसबाट नेपालले के,सिक्न सक्छ भन्ने कुरा बताएका थिए।

कार्यक्रमबाट आएका निष्कर्षका आधारमा स्वास्थ्य, उद्योग, अर्थ मन्त्रालय, औषधि व्यवस्था विभाग, फार्मेसी काउन्सिल लगायतका सरकारी निकायहरुलाई एक रिपोर्ट बनाएर सुझाव स्वरुप पेश गरिने छ।