क्यान्सरका बिरामीलाई राहत
काठमाडौँ । ११० बेडको क्यान्सर अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा क्यान्सर रोगको उपचारका लागि छुट्टै अस्पताल सञ्चालनमा आएको हो । १० वर्ष पहिले तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा शिलान्यास भएको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएपछि क्यान्सर पीडित सर्वसाधरणलाई राहत हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सेन्टर भित्रै बनाइएको तत्कालिन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको शालिक अनावरण गर्दैै क्यान्सर सेन्टरको उदघाटन गर्नुभयो ।
२०६८ सालमा ठेकेदारले तीनवर्ष भित्रमा निर्माण सम्पन्न गरी सरकारलाई बुझाउने सम्झौँता गरे पनि भवन तयार हुन ९ वर्ष लागेको छ ।
कोभिड १९ को महामारी सुरु भएका बेला निर्माण सम्पन्न भएको यो भवनमा सुरुमा कोभिडकै बिरामी राखेर उपचार गरिएको थियो । गतवर्ष १ भदौ देखि भने क्यान्सरको उपचार सेवा पनि सुरु गरिएको थियो ।
क्यान्सर रोग विशेषज्ञ डा.रक्षा श्रेष्ठले कुल ११० शैय्याको यो अस्पतालमा अहिले करीव ९० शैय्या मात्रै सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले क्यान्सरको रेडियो थेरापी उपचार बाहेकका अन्य उपचार सेवा भइरहेको जानकारी दिनुभयो ।
‘उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री खापुङले क्यान्सर रोगका बिरामीहरुको सहुलियत र गुणस्तरीय ढंगबाट उपचार हुनेमा आफु विस्वस्त रहेको बताए । उनले राज्यका तर्फबाट सेन्टरका लागि गर्नुपर्ने सहयोगका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा माओवादी सांसद अंजना विशंखे, चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्राडा दिव्यासिंंह शाह, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, अस्पतालका संयोजक प्राडा वाईपी सिंह, सुरेश वाग्लेका छोरा विकास वाग्ले लगायतको उपस्थिति रहेको थियो ।