ललितपुर । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने बताइएको छ। घटनास्थल पुगेको चिकित्सकको टोलीले निस्सासिएर मृत्यु भएको अनुमान गरेको छ।
महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा स्याङ्तान , नौ वर्षीय आशिष स्याङ्तान,सात वर्षीया आस्मा स्याङ्तान र दुई दिनको शिशुको मृत्यु भएको हो। प्रहरीका अनुसार चार जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो।
गम्भीर अवस्थामा रहेका एक जनाको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ। शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका छन् ।