काठमाडौं,२२ असार । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बर्खास्त गर्न डा. गोविन्द केसीले माग गर्नुभएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको हो ।
उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गर्नुभएको हो ।
‘विपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन्’, विज्ञप्तिमा डा। केसीले भन्नुभएको छ, ‘उनीहरूले तत्काल पद खालि गर्नुपर्छ ।’
प्रतिष्ठानमा व्यापक भ्रष्ट्राचार भएको भन्दै हाल चिकित्सक, विद्यार्थी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।