काठमाडौं । सरकारले सातै प्रदेशका सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको नसर्ने तथा मानसिक रोग शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।
नसर्ने रोगको विशिष्टकृत सेवा सबैको पहुँचमा पु¥याउने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले जानकारी दिनुभयो । सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेट समेत बिनियोजन गरेको छ।
उहाँका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।
यी अस्पतालमा क्यान्सर रोगको उपचार एउटा महत्वपूणर् घटक हुने उहाँले बताउनुभयो । यी अस्पतालहरुमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि व्यवस्था गरिने उहाँले बताउनुभयो। त्यहाँ विशेषज्ञ सहित जनशक्ति व्यवस्थापनका लागि दरबन्दीको व्यवस्था समेत गरिनेछ। त्यसको लागि सरकारले ६६ करोड बजेट पनि छुट्याएको छ।