काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरुले विरोध जनाएका छन् । उनीहरुले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् ।सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालकहरुले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार नगरे आफूहरुले कलेजको चावी आयोगलाई बुझाउने चेतावनी दिएका छन् ।
बीएस्सी नर्सिङमा एक हजार १०० कोटा छ, तर ५०४ जना मात्रै उत्तीर्ण छन् । बी फार्मेसीमा ९०२ वटा कोटा छ तर ५४७ जना मात्रै उत्तीर्ण छन् । फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटा छ, त्यहाँ ११४ जना, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा सोमबार नै गएर सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताउनुभयो । अध्यक्ष अधिकारीले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याए मात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गर्नुभयो । हुनपनि आयोगले बीपीएचमा कुल एक हजार ४२० कोटा छुट्याएको छ । तर ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी , बिएससी नर्सिङ १हजार १ सय छुट्याइएकोमा ५सय ४ जना पास भएका छन्।
कलेज सञ्चालकहरुले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पुरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले पास मार्क घटाएर भए पनि कोटा पुरा हुने गरी विद्यार्थी संख्या उपलव्ध गराउनुपर्ने बताए । कलेज सञ्चालकहरुले यसअघि आयोगका अधिकारीहरुलाई भेट्दा जसरी कोटा पुरा हुने गरी विद्यार्थी उपलव्ध गराउने आस्वासन पाएको तर परीक्षाको मापदण्ड विगारेर निजी कलेजमाथि अन्याय गरेको समेत आरोप लगाए ।