काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा मुटुको शल्यक्रिया लगायतका उपचार सेवामा प्रयोग हुने क्याथ ल्याब मेसिन खरिद गरेको डेढ वर्षसम्म पनि जडान हुन सकेको छैन।
अस्पतालले नयाँ भवन निर्माण गरी क्याथ ल्याब मेसिन जडान गर्ने भन्दै मेसिन थन्काएर राखेको छ। अस्पतालमा क्याथ ल्याब ल्याउने समयमा नै नयाँ भवन बन्ने कुरा थियो। तर भवन निर्माण भएको छैन।
अस्पतालले ४ करोड ९२ लाख १० हजारमा क्याथ ल्याब मेसिन खरिद गरेको थियो। उक्त मेसिन अस्पतालमा २०७६ सालको चैत महिनामा नै आइपुगेको छ। तर अस्पतालले उक्त मेसिन जडान नगरी खुला रुपमा नै राखेको छ।
यस्तै महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन अनुसार अस्पतालमा रहेको एक मात्र सिटी स्क्यान मेसिन पनि प्रयोगमा आउन सकेको छैन। अस्पतालमा इकोकार्डियो उपकरण मर्मत नहुँदा मुटुका बिरामीहरुले सेवा पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ।अस्पतालमा एमआरआइ, सिटी स्कयान लगायतका उपकरण अभाव र आइसीयू बेड उपलब्ध नभएका कारण भर्ना भएका ४१३ बिरामी अन्यत्र रेफर हुनु परेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ।