• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई र अत्याधुनिक सिटी स्क्यान मेसिन आउने

    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई र अत्याधुनिक सिटी स्क्यान मेसिन आउने

    बिरामीलाई ठूलो राहत 

    शनिबार, असार ६ २०८३
    शनिबार, असार ६ २०८३
    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई र अत्याधुनिक सिटी स्क्यान मेसिन आउने

    काठमाडौं ६ असार । राष्ट्रिय ट्रमा सेन्टरमा वर्षौँदेखि खड्किएको एमआरआई सेवाको अभाव अन्त्य हुने भएको छ। अस्पतालले अत्याधुनिक थ्री टेस्ला क्षमताको एमआरआई तथा १२८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएसँगै ट्रमा सेन्टरको रेडियोलोजी सेवा थप आधुनिक बन्ने भएको हो।

    यसअघि ट्रमा सेन्टरमा पटक–पटक बजेट विनियोजन भए पनि विभिन्न कारणले एमआरआई मेसिन खरिद प्रक्रिया सफल हुन सकेको थिएन । 

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्र मरासिनीका अनुसार विगतमा खरिद प्रक्रिया अगाडि बढ्दा विभिन्न विवाद तथा अवरोधका कारण योजना कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने सार्वजनिक खरिद प्रक्रियाअनुसार बोलपत्र मूल्याङ्कन सम्पन्न गरी उपकरण खरिदको प्रक्रिया टुंगोमा पुगेको छ।

    ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीका अनुसार अस्पतालमा एमआरआई सेवा नहुँदा दैनिक १०० देखि १५० जनासम्म बिरामी निजी स्वास्थ्य संस्थामा जान बाध्य छन्।

    अस्पतालमा आउने दुर्घटनामा परेका तथा गम्भीर चोटपटक लागेका बिरामीलाई परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता रहेकोछ ।  डा.मरासिनीले नयाँ उपकरण जडान भएपछि बिरामीले अस्पतालभित्रै सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने जानकारी पनि दिनुभयो । 
    अस्पतालले खरिद गर्न लागेको थ्री टेस्ला क्षमताको एमआरआई मेसिनका लागि चीनको सांघाई युनाइटेड इमेजिङ हेल्थकेयर कम्पनी लिमिटेड छनोट भएको छ। उक्त उपकरण करिब १९ करोड ७७ लाख रुपैयाँ लागतमा खरिद गरिनेछ।

    डा. मरासिनीका अनुसार यसअघि एमआरआई खरिदका प्रयास विभिन्न कारणले सफल हुन सकेका थिएनन्। तर यसपटक अन्य सरकारी अस्पतालमा जडान भएका समान स्तरका उपकरणभन्दा प्रतिस्पर्धात्मक मूल्यमा अत्याधुनिक मेसिन खरिद गर्न लागिएको हो।

    ट्रमा सेन्टरको रेडियोलोजी विभाग प्रमुख डा ममता भट्टराईले अस्पतालमा जडान गर्न लागिएको एमआरआई मेसिनको प्राविधिक क्षमता नेपालका अन्य प्रमुख सरकारी अस्पतालमा सञ्चालनमा रहेका थ्री टेस्ला एमआरआई सरह रहेको जानकारी दिनुभयो।

    हाल ट्रमा सेन्टरमा एमआरआई सेवा उपलब्ध नहुँदा बिरामीले निजी स्वास्थ्य संस्थामा १२ हजारदेखि २५ हजार रुपैयाँसम्म खर्च गरेर परीक्षण गराउनुपर्ने अवस्था छ। अस्पतालले भने सेवा सञ्चालनपछि वीर अस्पतालको शुल्क संरचनालाई आधार मानेर करिब ९ देखि १० हजार रुपैयाँ शुल्क निर्धारण गर्ने तयारी गरेको जनाएको छ।

     ट्रमा सेन्टरले नयाँ १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन पनि खरिद गर्दैछ। उक्त उपकरण जडानका लागि निदान मेडी सोलुसन्स प्रालि छनोट भएको छ। करिब ६ करोड ४३ लाख रुपैयाँ लागतमा खरिद हुने यो उपकरणले अस्पतालको परीक्षण क्षमता उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ।

    हाल सञ्चालनमा रहेको १६ स्लाइस क्षमताको पुरानो सिटी स्क्यान मेसिन पटक–पटक बिग्रिने तथा मर्मतमा ठूलो रकम खर्च हुने गरेको अस्पतालले जनाएको छ। यस वर्ष मात्र सिटी स्क्यानको ट्युब परिवर्तन गर्न एक करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो।

    अस्पताल प्रशासनका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम न्यूनतम मूल्याङ्कनमा योग्य ठहरिएका बोलपत्रदातालाई छनोट गरिएको हो।

    कुल २६ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद हुन लागेका यी दुई अत्याधुनिक उपकरण जडान भएपछि ट्रमा सेन्टरको रेडियोलोजी सेवा पूर्ण रूपमा आधुनिक बन्ने विश्वास गरिएको छ। साथै आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीले निजी क्षेत्रको महँगो शुल्क तिर्नुपर्ने बाध्यताबाट समेत राहत पाउने छन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार