कालीकोट, २३ साउन । कालीकोटको पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा वाइफाइ प्रयोग गर्न नदिएको विषयमा विवाद हुँदा चिकित्सक तथा नर्समाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा अभद्र व्यवहार गर्नुका साथै अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे १४ र १५ वर्षका एकैघरका दुई भाइ अस्पतालको वाइफाइमा मोबाइल जोडेर बहिरङ्ग सेवा कक्ष नजिकै खेल खेलिरहेका थिए । चिकित्सकले अस्पताल परिसरमा मोबाइल नचलाउन र बाहिर गएर प्रयोग गर्न भनेपछि उनीहरू र चिकित्सकबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विवादपछि ती दुई किशोरका परिवारका अन्य सदस्यसमेत अस्पतालमा आएर चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । घटनापछि राति पुनः अस्पतालमा प्रवेश गरी तोडफोडसमेत गरिएको प्रहरीले जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड भएको घटनाप्रति स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । उनीहरूले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ ।