काठमाडौँ, २२ साउन । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट उपलब्ध विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्।
यस व्यवस्थाबाट विशेषगरी आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नागरिकलाई राहत पुग्नुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
दुवै पक्षका अनुसार यस सहकार्यको मुख्य उद्देश्य स्थानीय तहमा स्वास्थ्य सेवाको सुदृढीकरण, जनस्वास्थ्य प्रवर्द्धन, नियमित स्वास्थ्य परीक्षणको संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको छ। साथै, दीर्घकालीन रोगको समयमै पहिचान, प्रारम्भिक उपचार, जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण तथा स्वस्थ समुदाय निर्माणमा समेत यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सम्झौता कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने बताउनुभएको छ।
उहाँले ह्याम्स अस्पतालको उद्देश्य उपचार सेवा प्रदान गर्नुमा मात्र सीमित नभई प्रत्येक नागरिकले गुणस्तरीय, सुरक्षित, सहज तथा किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो। स्थानीय सरकारसँगको सहकार्यमार्फत नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान, रोकथाम तथा विशेषज्ञ उपचार सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता थप सुदृढ भएको उहाँको भनाइ थियो।
नगर प्रमुख दीपककुमार रिसालले उक्त सहकार्यले गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै यस सहकार्यबाट नगरवासीले सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै उपचारमा आर्थिक भार न्यूनीकरण, नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रममार्फत स्वस्थ समुदाय निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
ह्याम्स अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत मुटु तथा रक्तनली रोग, स्नायु प्रणालीसम्बन्धी रोग, क्यान्सर, हाडजोर्नी, मूत्ररोग, मिर्गौला, पाचन प्रणाली तथा सघन उपचार सेवासहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
अस्पतालले आगामी दिनमा पनि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय तथा समुदायसँगको सहकार्यलाई थप विस्तार गर्दै नागरिकमैत्री, गुणस्तरीय, सुरक्षित तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।