• सोमबार, १५ भदौ २०८३
  • images

    त्रिवि कान्ति छात्रावासको चमेना गृहलाई सात दिनभित्र सुधार गर्न निर्देशन

    त्रिवि कान्ति छात्रावासको चमेना गृहलाई सात दिनभित्र सुधार गर्न निर्देशन

    बिहीबार , साउन २१ २०८३
    बिहीबार , साउन २१ २०८३
    त्रिवि कान्ति छात्रावासको चमेना गृहलाई सात दिनभित्र सुधार गर्न निर्देशन

    काठमाडौं, २१ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको संयुक्त टोलीमार्फत गरेको आकस्मिक बजार अनुगमनका क्रममा त्रिभुवन विश्वविद्यालयस्थित कान्ति छात्रावासमा सञ्चालित चमेना गृहमा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएपछि सात दिनभित्र सुधार गर्न निर्देशन दिएको छ।

    विभागमा प्राप्त गुनासोका आधारमा साउन २० गते गरिएको आकस्मिक बजार अनुगमनका क्रममा सुदूरपश्चिम चमेना गृहद्वारा सञ्चालित कान्ति छात्रावासको भोजनालयमा भान्सा तथा भाँडा माझ्ने स्थान फोहोर रहेको, पकाइएको खाना खुला अवस्थामा राखिएको तथा खाद्य स्वच्छता कायम हुने गरी कच्चा पदार्थ भण्डारण नगरिएको पाइएको विभागले जनाएको छ।
     वरिष्ठ खाद्य अनुसन्धान अधिकृत
    डा. बाल कुमारी शर्माले उजुरीमा उल्लेख गरिएअनुसार चमेना गृहको भण्डारणस्थलमा सोडा तथा कमसल कच्चा पदार्थ भने फेला नपरेको बताउनुभयो । उहाँले निरीक्षणका क्रममा देखिएका कमजोरी सात दिनभित्र सुधार गरी विभागलाई जानकारी गराउन निर्देशन दिइएको बताउनुभयो ।

    त्यसैगरी, कीर्तिपुर–९, नगाउँस्थित मेगा मार्ट प्रालिको अनुगमनका क्रममा बिक्रीका लागि राखिएका अण्डा हिमालयन अण्डा तथा मासु उद्योग प्रालि र सुबिस कुखुरा बजार प्रालिबाट खरिद गरिएको पाइएको छ। 

    विभागकी प्रवक्ता डा. शर्माले परीक्षणका लागि अण्डा फुटाएर निरीक्षण गर्दा ती अण्डा कृत्रिम नभई प्राकृतिक रहेको बताउनुभयो ।
     उहाँले व्यवसायलाई स्वच्छता र सरसफाइमा थप ध्यान दिन निर्देशन दिइएको बताउनुभयो।

    यस्तै, त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केट तथा विभागीय पसलको सरसफाइ अवस्था सामान्य रहेको पाइएको छ। खाद्य पदार्थको गुणस्तरबारे थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको विभागले जनाएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको उक्त संयुक्त अनुगमनमा तीन वटा खाद्य व्यवसायको निरीक्षण गरिएको थियो। विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्राप्त गुनासोका आधारमा यस्ता आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार