मापदण्ड विपरीत सञ्चालनमा रहेका पसलाई सरसफाइ र गुणस्तर सुधार गर्न निर्देशन
काठमाडौ,२५ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित क्याफे तथा मःम पसलमा अनुगमन गरेको छ ।
विभागले अनुगमनका क्रममा सरसफाइ र खाद्य गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका ७, जमल क्षेत्रमा सञ्चालित खाद्य उद्योग तथा व्यवसायमा उपभोक्ता हितलाई ध्यानमा राखी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निर्देशनात्मक अनुगमन तथा कारबाही गरिएको हो।
अनुगमनका क्रममा अरोमा क्याफे प्रालिमा किचनको सरसफाइ पर्याप्त नभएको, आन्तरिक फोहोर खुला रूपमा किचन परिसरमै फालिएको, किचन परिसरमा कोक्रो फल्ने अवस्था देखिएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको तथा एक डब्बा कृत्रिम खाद्य रङ (बुस १०० ग्राम) म्याद गुज्रिएको अवस्थामा फेला परेको विभागले जनाएको छ।
खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको र कीरा नियन्त्रण (पेस्ट कन्ट्रोल) को व्यवस्था नगरेको पाइएको छ। तेलको टीपीएम (टोटल पोलार मटेरियल) परीक्षण गर्दा १४.५ प्रतिशत भई मापदण्ड अनुकूल रहेको विभागले जानकारी दिएको छ।
त्यस्तै, एस के मःम सेन्टरमा पनि किचनको सरसफाइ अपर्याप्त रहेको, खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण गरिएको, खाद्य स्वच्छतासम्बन्धी अभ्यास कमजोर रहेको, कीरा नियन्त्रणको व्यवस्था नगरेको, म्याद नहेरी खाद्य पदार्थ भण्डारण गरिएको तथा आन्तरिक फोहोर किचन परिसरमै खुला रूपमा फालिएको पाइएको छ।
उक्त स्थानमा पनि कृत्रिम खाद्य रङ प्रयोग गरिएको विभागले जनाएको छ भने तेलको टीपीएम परीक्षण गर्दा १९.५ प्रतिशत भई मापदण्ड अनुकूल रहेको उल्लेख छ।
यस्तै, स्वादिष्ट मःम एन्ड फास्ट फुड हाउस मा किचन अव्यवस्थित रहेको, कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, खाद्य पदार्थ खुला र अव्यवस्थित तरिकाले भण्डारण गरिएको, कीरा नियन्त्रणको व्यवस्था नगरेको तथा फ्रिजको सरसफाइ र खाद्य पदार्थ भण्डारण विधि अव्यवस्थित रहेको पाइएको छ।
अनुगमनपछि विभागले सम्बन्धित क्याफे तथा मःम पसललाई नियमित सरसफाइ गरी स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र उत्पादन तथा बिक्री वितरण गर्न, किचन परिसर सफा र व्यवस्थित राख्न, कीरा नियन्त्रणको व्यवस्था मिलाउन, म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग नगर्न तथा खाद्य पदार्थ व्यवस्थित तरिकाले लेबलसहित भण्डारण गर्न निर्देशन दिएको छ।
साथै, कृत्रिम खाद्य रङको प्रयोग नेपाल सरकारको तोकिएको मापदण्डअनुसार मात्र गर्न, कार्यस्थलमा कामदारको व्यक्तिगत सरसफाइका लागि मास्क, ग्लोभ्स र हेड क्याप प्रयोग गर्न तथा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न विभागले निर्देशन दिएको छ।