• सोमबार, १५ भदौ २०८३
  • images

    मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    बुधबार, असार १७ २०८३
    बुधबार, असार १७ २०८३
    मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    काठमाडौँ, १७ असार । मानसिक अस्पताल लगनखेलले बिरामीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको छ। अब सेवाग्राहीले अस्पतालको आधिकारिक वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन तथा टिकट शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

    अस्पतालका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको बुँदा नम्बर ३२ कार्यान्वयन गर्ने क्रममा यो सेवा सञ्चालनमा ल्याइएको हो। डिजिटल माध्यमबाट सेवा प्रवाह विस्तार गर्दै नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने सरकारको नीतिअनुरूप अस्पतालले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ।

    मङ्गलबार निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो। सोही क्रममा अस्पताललाई सेवाहरू थप प्रविधिमैत्री बनाउन निर्देशन दिइएको थियो।

    अस्पतालले सञ्चालनमा ल्याएको नयाँ प्रणालीबाट सेवाग्राहीले अस्पताल पुग्नुअघि नै अनलाइनमार्फत ओपीडी टिकट लिन सक्नेछन्। यससँगै टिकटका लागि अस्पताल परिसरमा लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने र सेवा प्रवाह थप व्यवस्थित तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै सेवा प्रवाहलाई अझ छरितो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।

    अस्पतालले सार्वजनिक बिदाबाहेक प्रत्येक दिन बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ। अनलाइनमार्फत टिकट लिएका बिरामीलाई बिहानको सेवाका लागि ९:३० देखि १२:३० बजेसम्म र दिउँसोको सेवाका लागि २:३० देखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार