• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रसेवक कर्मचारीलाई साउनदेखि स्वास्थ्य बीमामा आबद्ध गराइने 

    राष्ट्रसेवक कर्मचारीलाई साउनदेखि स्वास्थ्य बीमामा आबद्ध गराइने 

    आइतबार, जेठ २४ २०८३
    आइतबार, जेठ २४ २०८३
    राष्ट्रसेवक कर्मचारीलाई साउनदेखि स्वास्थ्य बीमामा आबद्ध गराइने 

    काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने विषयमा मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ।

     स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार गर्दै यसको प्रभावकारिता बढाउने उद्देश्यले कर्मचारीको सहभागितालाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा मन्त्रालयको ध्यान केन्द्रित भएको उहाँले जानकारी दिनुभयो।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहेताले स्वास्थ्य पत्रकारहरूसँग आयोजना गर्नुभएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो। 

    उहाँका अनुसार विगतका वर्षहरूमा स्वास्थ्य बीमाका लागि करिब सात अर्ब रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ, जसले सरकारले स्वास्थ्य बीमा सुधारलाई दिएको प्राथमिकता स्पष्ट पार्छ।

    उहाँले वर्तमान सरकारले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर सार्वजनिक सेवा व्यवस्थापनलाई अघि बढाइरहेको बताउँदै स्वास्थ्य मन्त्रालयले पनि सोही अवधारणाअनुसार सुधारका कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, नागरिकमैत्री र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयले विभिन्न नीतिगत तथा व्यवस्थापकीय सुधार अघि बढाएको उहाँको भनाइ थियो।

    सचिव देवकोटाले अस्पताल सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाइएको जानकारी दिनुभयो। यसका लागि तयार गरिएको अस्पताल सुधार कार्यविधिमा स्वास्थ्यकर्मीको कार्यसंस्कृति सुधार, सेवाको निरन्तरता, सरसफाइ व्यवस्थापन, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारलगायत विषय समेटिएको उहाँले बताउनुभयो।

    उहाँका अनुसार अस्पतालहरूको सेवा गुणस्तर अभिवृद्धि गर्दै नागरिकले सहज र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यका साथ कार्यविधि कार्यान्वयनको तयारी भइरहेको छ। अस्पताल व्यवस्थापनमा सुधार ल्याउन सकिए स्वास्थ्य सेवाप्रतिको नागरिक विश्वास अझ सुदृढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

    सचिव देवकोटाले मन्त्रालयले आगामी केही दिनभित्रै निःशुल्क स्वास्थ्य सूचना प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी पनि दिनुभयो। उक्त प्रणालीमार्फत स्वास्थ्यसम्बन्धी सूचना तथा सेवामा नागरिकको पहुँच विस्तार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

    उहाँले विगतका नीति तथा कार्यक्रममार्फत घोषणा गरिए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेका योजनाहरूलाई आगामी वर्ष प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो। विशेषगरी आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य संस्थाको क्षमता विकास तथा सेवाको पहुँच विस्तारमा मन्त्रालय केन्द्रित रहने उहाँको भनाइ थियो।

    सचिव देवकोटाले नेपाल औषधि लिमिटेडसँग सहकार्यलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। स्वदेशमै आधारभूत तथा अत्यावश्यक औषधिको उत्पादन वृद्धि गर्न सरकारी तथा स्वदेशी औषधि उद्योगसँग सहकार्य विस्तार गरिने उहाँले बताउनुभयो। साथै औषधि आयात प्रक्रियालाई सहज र व्यवस्थित बनाउने दिशामा पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो।

    उहाँले स्वास्थ्य पर्यटन प्रवर्द्धन, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच विस्तार, बाल क्यान्सर उपचारलाई निःशुल्क बनाउने कार्यक्रम तथा नागरिकको स्वास्थ्य अधिकारलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो।

    सचिव देवकोटाका अनुसार स्वास्थ्य बीमा सुदृढीकरण, अस्पताल सुधार, स्वदेशी औषधि उत्पादन प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवाको विस्तारजस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए स्वास्थ्य क्षेत्रले आगामी वर्ष उल्लेखनीय उपलब्धि हासिल गर्नेछ। उहाँले स्वास्थ्य सेवा प्रणालीलाई थप गुणस्तरीय, उत्तरदायी र सर्वसुलभ बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार