काठमाडौं, १६ जेठ । सरकारले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थामा सेवा लिने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा ३ प्रतिशत अतिरिक्त शुल्क असुल्ने व्यवस्था गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था घोषणा गर्नुभएको हो।
बजेट वक्तव्यअनुसार निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल गर्नुपर्नेछ।
सरकारले स्वास्थ्य सेवामा पहुँच र समताको उद्देश्यलाई ध्यानमा राख्दै उक्त शुल्कको व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले उपचार, परीक्षण तथा अन्य सेवाबापत बिरामीबाट लिने शुल्कमा थप ३ प्रतिशत स्वास्थ्य समता शुल्क संकलन गर्नेछन्।
यस व्यवस्थाको कार्यान्वयन, शुल्क संकलनको प्रक्रिया तथा प्राप्त रकमको उपयोग सम्बन्धी विस्तृत कार्यविधि भने सरकारले पछि सार्वजनिक गर्नेछ ।