काठमाडौँ, २५ भदौ । आनी छोइङ्ग ड्रोल्मा फाउण्डेशनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाद्धारा सञ्चालित ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) लाई एक करोड ८० लाख रुपैँया सहयोग गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ्ग डोल्माले प्राडा भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा डा.भगवान कोइरालाले बालबालिकाको संख्या डेढ करोड रहेको भन्दै सातै प्रदेशमा अस्पताल बनाएर बच्चाको उपचार सुरु गरिने बताए । उनले झापाको दमकमा अस्पताल सञ्चालन भइसकेको बताए ।
त्यहाँ नहुनेलाई निःशुल्क र हुनेबाट पैसा लिएर उपचार सुरु गरिएको बताए । एक हजार बालबालिका जन्मिदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने भन्दै उहाँले ती सबै मृत्यु रोक्न सकिने खालको रहेको बताए ।
फाउण्डेशनकी अध्यक्ष आनीले आफूलाई चिनियाँ दिदी लिवईले केही वर्ष अघि उपहारमा दिएको मर्सिडिज गाडी बिक्री गरेर रकम सहयोग गरेको बताइन् ।
उनले बाल अस्पताल निर्माणका लागि सहयोग गरेको रकमले बालबालिकाहरुको उपचार हुने भएकोले आफूलाई गर्व लागेको बताइन् । उनले देशका सातवटै प्रदेशमा सञ्चालन हुने बाल अस्पतालले बालबालिकाहरुको उपचार गर्ने भएको हुँदा सहयोग गरेको बताइन् ।
डा.कोइरालाले संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन हुने बताए । कोइरालाले आनीले दिएको रकम काठमाडौँमा बन्दै गरेको मेडिकल भवनमा खर्च हुने जानकारी दिए । उक्त भवनलाई फाउण्डेशनको नाम दिईने छ ।
किओच मार्फत काठमाडौँमा २०० शैया र प्रदेशमा ५० देखि १०० शैयाको अस्पताल निर्माण हुने छ ।