सर्लाही, १ जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिकाका वीरेन्द्र चौधरीले सञ्चालन गरेको उक्त इँटा भट्टामा इँटा निकाल्ने क्रममा माटो र इँटाको ढिस्को खस्दा मजदुरहरू पुरिएका थिए । दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । घाइतेमध्ये तुलसीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राई का अनुसार घटनास्थलमा जेसिबी प्रयोग गरेर पुरिएको माटो र इँटा हटाउने काम जारी छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।