काठमाडौँ, १८ वैशाख । बागमती नदी किनारबाट हटाइएका सुकुमबासीहरूलाई लक्षित गर्दै सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको उक्त शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार शिविरमार्फत सकेसम्म धेरै प्रभावित नागरिकलाई समेटेर उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ। उहाँले विस्थापनपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तत्कालीन उपचार र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिइएको बताउनुभयो।
शिविरमा बालरोग, स्त्रीरोग, दन्त सेवा तथा मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध छन्। दशरथ रङ्गशालामा आफ्नो विवरण दर्ता गराउन आउने व्यक्तिहरूले सोही स्थानमा सञ्चालित स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्राप्त गरिरहेका छन्।
शुक्रबार साँझसम्म १४० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
दशरथ रङ्गशालामा सञ्चालन भइरहेको स्वास्थ्य सेवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल को नेतृत्वमा बहिरङ्ग (ओपीडी) सेवाका रूपमा सञ्चालन भइरहेको छ। शिविरमा टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोला सहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिएको छ।
त्यसैगरी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल बाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पताल बाट चिकित्सक र नर्ससहित चार जनाको टोली तथा कान्ति बाल अस्पताल बाट बालरोग विशेषज्ञसहित नर्स परिचालित छन्।
टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले शिविरमा अधिकांशलाई मनोसामाजिक परामर्श आवस्यक रहेको जानकारी दिनुभयो । उहाँले शिविरमा धेरैलाई नसर्ने रोग रहेको बताउनुभयो । धेरै विस्थापितहरुलाई उच्च रक्तचाप तथा सुगर रहेको थियो ।
पाटन मानसिक अस्पतालका डा वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउने व्यक्तिहरूलाई आवश्यक परामर्शसँगै औषधि पनि उपलब्ध गराइरहेको जानकारी दिनुभयो।
कान्ति बाल अस्पतालका डा जगरनाथ साहका अनुसार बालबालिकामा देखिएका विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ टोली सक्रिय रूपमा खटिएको छ।
मन्त्रालयका अनुसार औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि औषधि व्यवस्थापन महाशाखा र स्वास्थ्य सेवा विभागबीच समन्वय भइरहेको छ। यस्तै, कीर्तिपुर क्षेत्रमा सञ्चालन गरिएको अर्को शिविरमा वीर अस्पताल को नेतृत्वमा आँखा तथा दन्तसम्बन्धी सेवा प्रदान भइरहेको छ, जहाँ सेवाग्राहीको उपस्थिति उल्लेखनीय रहेको जनाइएको छ।
आज पहिलो दिन भएकाले प्रत्येक सेवामा एक चिकित्सक र एक नर्स परिचालन गरेका छौँ, सचिव देवकोटाले भन्नुभयो, “आजको अनुभवका आधारमा भोलिदेखि सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तयारीमा छौँ। जनशक्तिको अभाव छैन।”
उहाँले विस्थापनका कारण धेरै नागरिकमा मानसिक तनाव, पुराना रोगको पुनःप्रकोप तथा सङ्क्रमणको जोखिम देखिन सक्ने भएकाले यस्ता स्वास्थ्य शिविर अत्यन्त आवश्यक रहेको बताउनुभयो। मन्त्रालयले आगामी दिनमा शिविरको दायरा विस्तार गर्दै सेवा अझ प्रभावकारी बनाउने योजना बनाएको छ।