• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार, ५० शैय्या आइसियू र एचडीयू थपिँदै

    राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार, ५० शैय्या आइसियू र एचडीयू थपिँदै

    बिहीबार , वैशाख १० २०८३
    बिहीबार , वैशाख १० २०८३
    राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार, ५० शैय्या आइसियू र एचडीयू थपिँदै

    काठमाडौँ, १० वैशाख । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरले गम्भीर घाइते तथा आपतकालीन बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ५० शैय्याको नयाँ आईसीयू तथा एचडीयू शय्या थप्ने योजना अघि सारेको छ। 

    अस्पतालमा हाल रहेका १८ आईसीयू बेडले मात्र सेवा दिन कठिनाइ भइरहेको भन्दै सेवा विस्तारको तयारी गरिएको हो।
    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले दैनिक १०० भन्दा बढी घाइते उपचारका लागि आउने र २५ देखि ३० वटा मेजर अप्रेसन हुने भएकाले आईसीयू अत्यन्त आवश्यक रहेको बताउनुभयो। 

    उहाँले हेड इन्जुरी लगायतका गम्भीर बिरामी धेरै आउने भएकाले कतिपय अवस्थामा आईसीयू अभावका कारण उपचारमा समस्या भइरहेको जानकारी गराउनुभयो ।
    बिरामीको चापलाइ मध्यनजर गर्दै हामीले आईसीयू र एचडीयू विस्तार गर्ने योजना अघि सारेका हौँ, डा. मरासिनीले भन्नुभयो।

    डा. मरासिनीका अनुसार अस्पतालको प्रशासनिक कार्यकक्ष हाल रहेको तेस्रो तल्लामा आईसीयू स्थापना गर्ने योजना छ। उहाँले प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहितको प्रशासनिक कार्यकक्षलाई सातौँ तल्लामा सारिने जानकारी दिदै अहिलेको प्रशासनिक क्षेत्रलाई ५० शैय्याको आईसीयूका लागि प्रयोग गरिने बताउनुभयो ।

    उहाँले थप आईसीयू सञ्चालन भएपछि गम्भीर बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभयो।

    आईसीयू विस्तारसँगै अस्पतालले आधुनिक प्रविधिका उपकरण पनि थप्ने तयारी गरेको छ। हाल १६ स्लाइस क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा रहे पनि बढ्दो चापलाई ध्यानमा राखेर १२८ स्लाइसको नयाँ सिटीस्क्यान र थ्री टेस्ला एमआरआई मेसिन जडान गरिने योजना रहेको छ।

    डा. मरासिनीले भन्नुभयो, “चालु आर्थिक वर्षको अन्त्यसम्म खरिद प्रक्रिया पूरा गर्ने र नयाँ आर्थिक वर्षको एक–दुई महिनाभित्र जडान गर्ने लक्ष्य छ।”

    उहाँका अनुसार दैनिक ५० देखि १०० भन्दा बढी सिटीस्क्यान गर्नुपर्ने अवस्था रहेको र पुरानो मेसिनमा अत्यधिक लोड हुँदा समस्या आउने गरेको छ। नयाँ मेसिन थपिएपछि सेवा प्रवाह सहज हुने उहाँको भनाइ छ।

    मरासिनीले अस्पतालले सिटीस्क्यानका लागि साढे ६ करोड रुपैयाँ र एमआरआईका लागि करिब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। नयाँ उपकरण र आईसीयू विस्तारले ट्रमा सेन्टरको आपतकालीन सेवा क्षमता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार