एक साताभित्र दरखास्त दिन आग्रह
काठमाडौँ, ८ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले विभिन्न विधामा प्रदान गरिने प्रतिष्ठित अवार्डका का लागि आवेदन आह्वान गरेको छ।
परिषद्को स्थापना दिवसको अवसरमा आयोजना हुने ‘१२ औँ नेशनल समिट अफ हेल्थ एण्ड पपुलेसन साइन्टिस्ट्स इन नेपाल’ कार्यक्रममा ती पुरस्कार प्रदान गरिनेछन्।
परिषद्का अनुसार उक्त सम्मेलन यही चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। सोही अवसरमा स्वास्थ्य तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्न विभिन्न चार विधामा पुरस्कार प्रदान गरिने तयारी गरिएको हो।
यस वर्ष प्रदान गरिने पुरस्कारहरूमा हेल्थ रिसर्च अवार्ड, यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर क्याटेगोरी) र हेल्थ जर्नालिस्ट अवार्ड रहेका छन्।
परिषद्ले प्रकाशित सूचना अनुसार योग्य र इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र आवेदन पेश गरिसक्नुपर्नेछ।
हेल्थ रिसर्च अवार्डका लागि आवेदक नेपाली नागरिक हुनुपर्ने, अनुसन्धान नेपालमै सम्पन्न भएको तथा स्वास्थ्यसँग सम्बन्धित विषयमा आधारित हुनुपर्नेछ। साथै, सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बरसम्ममा प्रकाशित लेखहरू समावेश गर्नुपर्नेछ। ती लेखहरूमा आवेदक फर्स्ट, लास्ट वा करेस्पोन्डिङ लेखक हुनु अनिवार्य गरिएको छ।
योङ हेल्थ रिसर्चर अवार्डका लागि ४० वर्ष मुनिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यसका लागि पनि अनुसन्धान नेपालमै सम्पन्न भएको हुनुपर्ने र सूचीकृत जर्नलमा प्रकाशित लेखहरू समावेश गर्नुपर्नेछ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर क्याटेगोरी) अन्तर्गत ४० वर्ष मुनिका नेपाली चिकित्सकले आवेदन दिन पाउनेछन्। उनीहरूको अनुसन्धान पनि नेपालभित्रै सम्पन्न भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
त्यसैगरी, हेल्थ जर्नालिस्ट अवार्डका लागि नेपाली पत्रकारले आवेदन दिन सक्नेछन्। आवेदकले स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित लेख, रचना वा वैज्ञानिक सामग्री प्रकाशन वा प्रसारण गरेको हुनुपर्नेछ। साथै, आवेदक विगत पाँच वर्षदेखि यस क्षेत्रमा निरन्तर सक्रिय हुनुपर्नेछ र सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बरसम्मका सामग्रीहरू समावेश गर्नुपर्नेछ।
परिषद्को सूचना अनुसार आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, प्रकाशित पूर्ण लेखहरू वा लिंक सहित आवेदन दिन सकिन्छ । यस्तै कुनै कानुनी अयोग्यता नभएको स्व–घोषणा पत्र आवस्यक छ । परिषद्ले सबै अवार्डका लागि छुट्टाछुट्टै मूल्याङ्कन प्रक्रिया अपनाइने जनाएको छ। साथै, अपूर्ण वा मापदण्ड नपुगेका आवेदनहरू अस्वीकृत गरिने स्पष्ट पारिएको छ।
इच्छुक आवेदकहरूले आवश्यक कागजातसहित आवेदन इमेल award@nhrc.gov.np मार्फत पठाउनुपर्नेछ।