राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी
काठमाडौं, २ चैत । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ ।
स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले बोर्ड र पञ्जीकरण विभागबीच समझदारी भएको हो ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा.कृष्ण पौडेलले एउटै व्यक्तिले एक वा सो भन्दा बढी कार्ड बनाएर उपचार गर्ने गरेको पाइएको भन्दै विभागसंग समझदारी गरेपछि त्यस्तो दुरुपयोग हट्ने जानकारी दिनुभयो । उहाँका अनुसार दुईतिनवटा कार्ड लिन पाउँदैन । उहाँले एउटै व्यक्तिले अरुको कार्ड प्रयोग गरेर सेवा लिन नपाउने प्रष्ट पार्दै बिमामा हुने दुरुपयोग रोकिने जानकारी गराउनुभयो ।
उहाँले अब दर्ता गर्दा र नविकरण गर्दा पनि बायोमेट्रिक गर्नुपर्ने उहाँको भनाई छ ।
एउटै मानिसले दुवै वडाबाट कार्ड लिइरहेका रहेछन्, त्यस्तो कार्य अन्त्य हुने उहाँको भनाई छ ।
सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.कृष्ण पौडेलका अनुसार अब स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ । यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ । राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ।
यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ। परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।
यसले तथ्यांक एकीकरणमा सघाउ पु¥याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ।
सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
बीमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको सन्दर्भमा भएको यो समझदारीले डिजिटल नेपाल’ को अभियानलाई समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।