ओखलढुंगा, १३ माघ । ओखलढुंगास्थित चिसंखुगडी गाउँपालिकामा एक दम्पतिको गएराती लुटपाट पछि हत्या गरिएको छ ।
हत्या हुनेमा चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका अन्दाजी ८० वर्षीय वृद्ध चन्द्रविक्रम राई र उहाँको श्रीमती चन्द्रमाया राई हुनुहुन्छ ।
गाउँमा खुद्रा पसल सञ्चालन गर्दै आउनुभएका राई दम्पतिको लुटपाट पश्चात हत्या गरेका हुन् ।
चिसङ्खुगढी गाउँपालिकाका प्रमुख निसान्त शर्माले राई दम्पतिको हत्या भएको पुश्टि गर्दै चिशंखुगढ़ी ६ भदौरे बोहोरे निवासी सामाजिक व्यक्तित्व चन्द्र बिक्रम राई दम्पतिको गएराति लुटपाट पछी हत्या भएको बताउनुभयो ।
यो निरन्तर घटना शृंखलाले जनमानसमा भय उत्पन्न भएको छ,शर्माले भन्नुभयो,"घटनाको गहिरो अनुसंधान गरि दोषी उपर कड़ा कार्वाहीको माग गर्दछु।"
उहाँले अपराधको यस्ता निरन्तर शृंखलाले सुरक्षा चुनौती थपेको जानकारी दिनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष बलराम कटवालले राई दम्पतिको हत्या भएको जानकारी दिनुभयो । आज बिहानै पसलमा स्थानीय सामग्री खरिद गर्न जाने क्रममा हत्या भएको देखेपश्चात हल्ला भएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोली घटनास्थलमा पुगेको छ ।
घटनाबारे जानकारी हुनासाथ घटनास्थल वरपर स्थानीयहरू भेला भएका छन् । वडा अध्यक्ष घटनास्थलमा पुगेर घटनाको बारेमा प्रहरीलाई जानकारी गराउनुभएको थियो ।
केही दिन अगाडि मात्रै जिल्लाको भदौरेमा एक दम्पतिको हत्या पश्चात फरार रहेका अपराधिक समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।