• सोमबार, १५ भदौ २०८३
  • images

    शल्यक्रिया कक्षबाट उठेका प्रश्नहरू

    शल्यक्रिया कक्षबाट उठेका प्रश्नहरू

    जब एउटी किशोरी आफ्नै शिक्षकबाट हिंसा भोग्नुपर्छ........

    त्यो १५–१६ वर्षकी कलीली नानी आफ्नै शिक्षकबाट पीडित हुँदा मेरो मनमा प्रश्न उठिरह्यो । हाम्रो समाज कता गइरहेको छ, हाम्रा छोरी–चेली कति सुरक्षित छन् ?  ९ वर्षकी छोरीकी आमा म, उसमा आफ्नै छोरी देख्न थालेँ ।  हामी प्रविधि र सामाजिक सञ्जालमा अगाडि छौँ भन्ने गर्व गर्छौँ तर हाम्रो सोच, हाम्रो मानसिकता, छोरी–चेलीलाई हेर्ने दृष्टिकोण कति दयनीय रहेछ भन्ने महसुस भयो । सुन्दा र सोच्दा मन भारी भयो । 

    बुधबार, माघ ७ २०८२
    बुधबार, माघ ७ २०८२
    शल्यक्रिया कक्षबाट उठेका प्रश्नहरू

    डा.शान्ति भुर्तेल नेपाल 

     

    काठमाडौँ, ७ माघ । उनी शल्यक्रिया कक्षमा आउँदै गर्दा निकै डराएकी थिइन् । छटपटाइरहेकी र तनावमा जस्तै देखिन्थिन् । यताउता हेर्दै थिइन् । मैले उनलाई सहज बनाउन कुरा गर्ने प्रयास गरेँ । उनको एपेन्डिक्सको शल्यक्रिया गर्नका लागि शल्यक्रिया कक्षमा ल्याइएको थियो । 

    नानी, तिमी ठीक छौ? मैले तिमी जस्तै धेरै बिरामी देखेको छु। यो तिम्रो पेटको मात्र दुखाइ होइन । मेरो पनि छोरी छन्।  तिमी मलाई विश्वास गर्न सक्छौ।”
    सुरुमा उनी निकै असहज थिइन्, तर बिस्तारै कुरा गर्दै जाँदा उनले मन खोलेर भन्न थालिन् । त्यसक्रममा थाहा भयो उनी आफ्नै शिक्षकबाट शारीरिक हिंसामा परेकी रहिछन् । मैले घटनाको विस्तृत विवरण सोधिन ।  किनकी मेरो उद्देश्य उनको पीडा बढाउनु होइन, तनाव कम गर्नु थियो।
    शल्यक्रिया सुरु भयो ।  स्कुलका  अरु कुरा साथीका कुरा हुँदै गयो । उनी कक्षा ९ मा पढ्दै रहिछन् । कुराकानीकै क्रममा थाहा भयो त्यो घटना हालसालै भएको रहेछ ।  जसका कारण उनी गहिरो मानसिक तनावमा रहेकी थिइन्। यसलाई पोष्ट ट्रमाटिक स्ट्रेस भनिन्छ । भूकम्प, कोभिड, पारिवारिक बिछोड वा यस्ता गहिरा आघातपछि देखिने मानसिक अवस्था हो यो । 
    त्यो १५–१६ वर्षकी कलीली नानी आफ्नै शिक्षकबाट पीडित हुँदा मेरो मनमा प्रश्न उठिरह्यो । हाम्रो समाज कता गइरहेको छ, हाम्रा छोरी–चेली कति सुरक्षित छन् ? 
    ९ वर्षकी छोरीकी आमा म, उसमा आफ्नै छोरी देख्न थालेँ ।  हामी प्रविधि र सामाजिक सञ्जालमा अगाडि छौँ भन्ने गर्व गर्छौँ तर हाम्रो सोच, हाम्रो मानसिकता, छोरी–चेलीलाई हेर्ने दृष्टिकोण कति दयनीय रहेछ भन्ने महसुस भयो । सुन्दा र सोच्दा मन भारी भयो । 
    कुराकानीकै क्रममा थाहा भयो उनी औषधि खान थालेकी रहिछन् । अहिले अलिक सहज भएको महसुस गर्दै थिइन्। कुकर्म गर्ने एक जना हुन्छ, तर हीनताबोध, लाज र सजाय भोग्नुपर्ने हाम्रा छोरीहरू हुन्छन् । मैले मजाकमै भनेँ,–फेरि कसैले त्यस्तो ग¥यो भने पहिला त ती पापीलाई गालामा चड्काउनु, अरू कुरा पछि हेरौँला ।”
    “गलत गर्ने अरू, सहनुपर्ने म किन?” भन्दै उनी हल्का हाँसिन्।
    उनले आफ्नो पीडा आमासँग व्यक्त गरेकी रहिछन्, तर दोषीलाई कारबाही गर्नुको सट्टा चुपचाप सहन लगाइयो । यही कुराले उनलाई झनै पीडा दिएको रहेछ । 
    कहिलेसम्म हाम्रा छोरीहरूले यसरी पीडा सहनुपर्ने? कहिलेसम्म मानसिक यातना भोग्नुपर्ने? हाम्रो समाजमा छोरी–चेली कहिले साँच्चिकै सुरक्षित हुनेछन् ? शिक्षकदेखि आफ्ना इष्टमित्रसम्मबाट पीडित भएर कहिलेसम्म बाँचिरहनुपर्ने?
    यी सबै प्रश्नहरू मेरो दिमागमा घुमिरहे । मनमा लाग्यो छोरालाई नैतिक शिक्षा दिनु, व्यवहारिक शिक्षा दिनु र छोरी बचाउने अभियान नै सुरु गर्नुपर्ने समय आएको छ । यी सोचहरूले दुई–तीन दिनसम्म मलाई सुत्न दिएनन्।
    आफ्नै हुर्कँदै गर्दा भोगेका घटना सम्झिए । कसलाई भन्ने थाहा थिएन। त्यो बेला हिंसा भन्ने शब्द नै चिनेको थिइन । ती व्यक्तिहरू परिवारकै नजिकका, आफ्नै जस्ता थिए बाबुआमाको अगाडि एउटा अनुहार, एक्लो पाउँदा अर्को ।  
    आज मानसिक स्वास्थ्यबारे सरकार र विभिन्न संघसंस्थाहरूले धेरै कुरा गरिरहेका छन्। पहिलेभन्दा अवस्था केही राम्रो भएको छ । तर अझै पनि हाम्रो संकुचित सोच, महिलालाई हेर्ने दृष्टिकोण, “छोरीले सहनुपर्छ” भन्ने मानसिकता ज्यूँका त्यूँ छ । 
    कहिले हाम्रा छोरीहरूले आवाज उठाउनेछन ? 

     कहिले हामी उनीहरूसँगै उभिएर सुरक्षित समाज बनाउनेछौँ? पढ्न जाँदा, स्विमिङ, डान्स, कराते जाँदा समेत शिक्षकबाट हुने घटनाहरू हामीले देखेका र सुनेका छौँ। यस्ता घटनाहरू कहिले कम हुनेछन ? 
    यी सबै विचारहरूले मलाई धेरै दिन बेचैन बनायो । तर उनी अस्पतालबाट डिस्चार्ज भएर हाँसिलो मुहार लिएर घर जाँदै गर्दा भने मन अलिक हलुका भयो । 
    लेखक भरतपुर अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टको रुपमा कार्यरत हुनुहुन्छ ।   

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार