पीसीएल नर्सिङको नतिजा खस्कियो
काठमाडौँ, १९ कात्तिक । नेपाल नर्सिङ परिषदले लिएको बीएमएस (व्याचलर अफ मिडवाइफ्री) लाइसेन्स परीक्षामा सतप्रतिशत पास भएका छन् ।
काउन्सिलका अनुसार उक्त परीक्षामा २८ जनाले फारम भरेकोमा २७ जना परीक्षामा सहभागी थिए । परीक्षामा सहभागी भएका सबै २७ जना नै उत्तीर्ण भएका हुन् ।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४५. ७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१७ जनाले फारम भरे पनि परीक्षाका बेला २१० जना उपस्थित थिए । ती मध्ये ९६ जना मात्रै पास भएका हुन् ।
यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ५६. १८ प्रतिशत पास भएका छन् । सो परीक्षाका लागि कुल ९८ जनाले फारम भरेका थिए । ती मध्ये ८९ जना परीक्षामा सहभागी भए भने उत्तीर्ण ५० जना मात्रै भएका छन् ।
प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ उत्तीर्ण भई लाइसेन्स परीक्षा (नाम दर्ता) मा सहभागी नर्सहरुको नतिजा भने अलि खस्किएको छ।
नेपाल नर्सिङ परिषद्ले लिएको परीक्षामा जम्मा १७.४४ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार यसपटक पीसीएल नर्सिङ परीक्षाका लागि ६४५ जनाले फारम भरे पनि परीक्षाका बेला ६०२ जना सहभागी भएका थिए । ती मध्ये १०५ जना मात्रै उत्तीर्ण भएका हुन् ।