अमेरिका, १९ कात्तिक । विश्व प्रसिद्ध आध्यात्मिक गुरु तथा मानवतावादी व्यक्तित्व श्री श्री रविशंकरलाई बोस्टन ग्लोबल फोरमले वर्ल्ड लिडर फर पिस एन्ड सेक्युरिटी प्रदान गरिएको छ ।
यो सम्मान द आर्ट अफ लिभिङ फाउन्डेसन मार्फत् रवि शंकरले विश्वभर शान्ति, करुणा र समझदारी फैलाउँदै आएको योगदानको उच्च कदरस्वरूप प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै बोस्टन ग्लोबल फोरमका अध्यक्ष तथा सह–संस्थापक गभर्नर माइकल एस डुकाकिसले गुरुदेवले शान्तिलाई केवल आदर्शको रूपमा होइन, दैनन्दिन अभ्यासको रूपमा सिकाउनु भएको छ। उहाँले देखाउनु आत्म–शान्ति नै विश्व–शान्तिको आधार रहेको देखाउनुभएको बताउनुभयो ।
रविशंकरले कोलम्बिया, आइभरी कोस्ट, भारत, इराक, म्यानमार, श्रीलंका, र भेनेजुएला जस्ता द्वन्द्वग्रस्त देशहरूमा मेलमिलाप, क्षमा र अहिंसाका सिद्धान्तद्वारा शान्ति स्थापना गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।
पुरस्कार समारोहमा एआई वर्ल्ड सोसाइटीका सह–संस्थापक तथा बीजीएफका सीईओ न ङ्विन आन्ह तुवानले गुरुदेवको सन्देशले हामीलाई सम्झाउँछ भन्दै प्रविधि मानवताको सेवक हुनुपर्छ, मालिक होइन। कृत्रिम बुद्धिमत्ताको युगमा नैतिकता र आध्यात्मिकताको मार्गदर्शन अत्यावश्यक छ भन्नुभयो ।
यस पुरस्कारको दशौं वार्षिकोत्सवमा रविशंकरलाई सम्मानित गर्दै संस्थाले अघिल्ला वर्षका विजेताहरू जापानका प्रधानमन्त्री शिन्जो आबे, जर्मनीकी चान्सलर एन्जेला मर्केल, र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको परम्परालाई निरन्तरता दिएको जनाएको छ।
डुकाकिसले समापन मन्तव्यमा गुरुदेव, तपाईँको जीवनले हामीलाई सम्झाउँछ शान्ति केवल युद्धको अन्त्य होइन, बरु सह–अस्तित्व र हार्दिक सद्भावको सृजना हो भन्नुभयो ।
सोही अवसरमा बोल्दै गुरुदेव श्री श्री रविशंकरले प्राप्त गरेको अवार्ड विश्व शान्तिका लागि क्रियाशिल विश्वभरका स्वयंसेवी संस्था तथा व्यक्तिहरुका लागि समर्पण गर्न चाहेको बताएका थिए ।
आफू सधै भरी विश्वमा स्थायी शान्ति र भाइचारालाई अघि बढाउने पक्षमा रहेको भन्दै उनले अगाडी थपे, विश्वमा स्थायी शान्ति तब मात्र सम्भव हुन्छ जब मानिसले आफ्नै अन्तरात्मामा बस्ने करुणा र प्रेमलाई जगाउँछ। धर्म, संवाद र आपसी सद्भावले मानवता जोड्ने शक्ति दिन्छन्। आजको समयमा विभाजन होइन, एकताको चेतना आवश्यक छ। हरेक व्यक्तिले आफ्नो अन्तरमा रहेको प्रकाश फैलाउने प्रयास गर्नुपर्छ, तब मात्र पृथ्वीमा साँचो शान्ति स्थापित हुन सक्छ।’