काठमाडौ, १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशभर आन्दोलनरत नर्सका माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ ।
झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई लिएर विभिन्न चरणमा आन्दोलन भइरहेको भन्दै उहाँले नर्सको माग सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै उनीहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने स्पष्ट पार्नुभयो ।
प्रचण्डले आफ्नो पार्टीले नर्सहरूका जायज मागहरूलाई राज्यले तत्कालै सम्बोधन गरी स्वास्थ्य सेवाको मेरुदण्ड मानिने यस पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ:
'यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्। नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ ।