काठमाडौं, ९ कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले शपथ ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले सपथ लिनुभएको हो ।
उहाँसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिनुभयो ।
डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुनुहुन्छ ।
डा शर्मा २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल हुनुभएको हो ।
उहाँ नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुनुहुन्छ । अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी हुनुभएको थियो ।
उहाँ प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र नभई जनस्वास्थ्य विज्ञ पनि हुनुहुन्छ ।
उहाँले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
डा.शर्माले महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि एफआईजीओ वमेन अफ द इअर अवार्डसहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ।
यस्तै, उहाँले विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गर्नुभएको छ ।
प्रसूति गृह (परोपकार मेटरनिटी अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गर्नुभएको शर्माले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ ।
त्यस क्रममा उहाँले हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिम र ग्लोबल फाइनान्सिङ फ्यासिलिटीका लागि समेत योगदान पुर्याउनु भएको छ ।