भाइटीकाको तयारी गरिरहँदा भाइको डुबेर मृत्यु
रुकुमपश्चिम, ५ कात्तिक । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।
दिदीभाइबिचको बिशेष वर्ष भाइटीकाको अघिल्लो दिन यस्तो घटना भएको हो ।
भाइटीकाको तयारी गरिरहेका बेला दिदिबहिनीहरु भाइको निधनले विक्षिप्त भएका छन् ।
स्थानीय कपिलदेव शर्माका १९ वर्षीय छोरा केदार शर्माको बुधबार बेलुका मृत्यु भएको हो ।
उहाँका नातेदार सुर्यप्रकाश शर्माले मुसीकोट नगरपालिका ४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा शर्माको डुबेर मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार केदार घरका एक मात्र छोरा हुनुहुन्छ । कक्षा १२ मा अध्ययनरत उहाँ तिहार मनाउन काठमाडौबाट आउनुभएको थियो । उहाँका तीन दिदीबहिनी हुनुहुन्छ ।
शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरेर घरमा ल्याइएको छ । भाइटीकाकै दिन उहाँको अन्त्येष्टि हुने बताइएको छ ।