काठमाडौँ,२९ असोज । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा नेपालका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव र रानी कोमल राज्य लक्ष्मी देवी शाहले नियमित स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
अस्पतालका अध्यक्ष आरएस भण्डारीले दिनुभएको जानकारी अनुसार आज पूर्व राजा–ज्ञानेन्द्र शाह र रानी कोमल शाहको स्वास्थ्य परीक्षण भएको छ ।
पूर्व राजा र रानीलाई अस्पतालका अध्यक्ष भण्डारी र कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले स्वागत गर्नुभएको थियो ।
अस्पतालद्धारा जारी सूचनामा ,“पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा रानी कोमल राज्य लक्ष्मी देवी शाहज्यूको नियमित स्वास्थ्य परीक्षण ह्याम्स अस्पतालमा गर्न पाउँदा ह्याम्स परिवार अत्यन्तै गौरवान्वित महसुस गर्दछ भनिएको छ।”
अस्पतालका अनुसार यस अवसरले मुलुकमै विश्वस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यलाई थप प्रेरणा दिएको छ। ह्याम्सले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाएको तथा सेवाप्रति जनविश्वास बढाउन मद्दत गरेको जनाएको छ।
अस्पतालको आधिकारिक फेसबुक पेजमा भनिएको छ,“नेपालका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा रानी कोमल राज्य लक्ष्मी देवी शाहज्यूको नियमित स्वास्थ्य परिक्षण यस ह्याम्स अस्पतालमा गर्न पाउँदा ह्याम्स परिवार अत्यन्तै गौरवान्वित महशुस गर्दछ । मुलुक भित्रै विश्व स्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका लागि हामीलाई यसले थप उर्जा तथा हौसला प्रदान गरेको छ। देशभरीका चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल बढाउनुका साथै यस अस्पतालको सेवा प्रति पूर्ण विश्वास गर्दै सेवाको अवसर प्रदान गर्नु भएकोमा पूर्व राजा रानीमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।”
