विराटनगर, ११ भदौ । कोशी प्रदेश सरकारले कडा प्रकृतिका रोगका बिरामीहरूलाई आठ करोड ८५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमिया जस्ता गम्भीर रोग लागेका एक हजार ७१५ जना बिरामीहरूले उक्त सहयोग प्रदान गरेको हो ।
उहाँका अनुसार, तीमध्ये क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी र हेड इन्जुरी भएका एक हजार ६६० बिरामीलाई ५० हजारका दरले तथा मिर्गौला प्रत्यारोपण गरेका ५५ जनालाई एक लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो।
बितेको आवमा आर्थिक भारको कारण बजेट कटौती गर्नुपर्यो, डा. राईले भन्नुभयो, यसपटक बजेट विनियोजन नभएकाले २०८२/ ८३ मा नयाँ निवेदन लिने प्रक्रिया अगाडि बढाइएको छैन।
उहाँका अनुसार मन्त्रालयले २०८० सालको चैत महिनाबाट नै सहयोगको लागि निवेदन संकलन प्रक्रिया बन्द गरिसकेको जानकारी दिनुभयो।
पहिलो पटक कोशी प्रदेश सरकारले आर्थिक सहायता वितरण सुरु गरेको समय आर्थिक वर्ष २०७९/ ८० हो। सुरुमा मिर्गौला प्रत्यारोपण गराएकालाई दुई लाख र अन्य गम्भीर रोग लागेकालाई एक लाख रुपैयाँसम्म सहयोग दिने प्रावधान थियो। तर माग अत्यधिक र बजेट सीमित भएपछि विगत आवमा सहायता रकम घटाएर बाँडफाँड गरिएको हो।
हाल मन्त्रालयले कडा रोग भएका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने तथा बीमा नविकरण गराउने प्रक्रियालाई प्राथमिकतामा राखेको जनाएको छ। हामी जिल्लाबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौं, राईले थप्नुभयो, चाँडै औपचारिक सूचना जारी गरी कार्य अघि बढाइनेछ।